arrow

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
bagmati-pradesh-hetuda1.png

बागमती । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश सभाको चालु नवौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए । उनका अनुसार, सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउनुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का कारण करिब तीन महिना अवरुद्ध प्रदेश सभा बैठक पुनः सञ्चालन भएपछि दुई बैठक बसेर नवौँ अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सभाको नवौँ अधिवेशनअन्तर्गत १२ वटा बैठक सञ्चालन भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको पछिल्लो समय गत फागुन २९ गते, ३० गते र चैत ८ गते बसेको बैठकले दुई वटा विधेयक पारित गरेको थियो भने अन्य तीन वटा विधेयक संशोधनको लागि पेश गरेको थियो ।

बागमती प्रदेश सभामा हाल १०९ सदस्य रहेका छन् । जसमा एमालेका ४३, माओवादीका २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ