- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांंग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई कांग्रेसले नेतृत्व गरेको सरकारका बेलामा भएका कामहरुको फेहरिस्त लिएर जनतामा जान आग्रह गरेका छन् ।
बुधबार काठमाडौंको टोखा नगरपालिका ८ कार्यसमितिले आयोजना गरेको बृहद कार्यकर्ता भेला, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसले गरेका कामको प्रचार गर्न आग्रह गरेका हुन् । उनले कांग्रेसको घरमा आउने सबैलाई कांग्रेसले स्वागत गर्ने बताएका छन् ।
उनले यसले थप तागत र मजबुत बनाउने उल्लेख गर्र्दै अबको डेढ महिनामा जनताले निर्वाचनमा दल रोज्न र फेर्न पाउने बताए । नेता थापाले कांग्रेसले जनता सामु गरेका वाचा सबै पूरा गरेको दाबी गर्दै भने, ‘जनताले कांंग्रेसलाई किन रोज्ने हामीले घर–घर गएर बुझाउनुपर्छ । पाँच वर्षमा के–के भयो मूल्यांकन गर्नुपर्छ । स्थिति अहिले निकै फरक छ । नेपाली कांग्रेसले जनतासँग गरेको वाचा पूरा गरेको छ । २०७४ को घोषणापत्र फर्केर हेरौं । स्थिरता दिन्छु भन्नेहरूले के–के गरे, हामी सबैलाई थाहा छ ।’
उनले अगाडि भने, ‘कांग्रेसले प्रतिपक्षमा बस्दा पनि सत्तामै आउनुपर्ने भयो । चालकले गाडी भीरबाट खसाले । दुई तिहाइको सरकार चलाउन नसक्नेले फेरि जनतामा गएर भोट माग्ने कि माफी माग्ने ? जिम्मेवारी बहन गर्न नसक्नेले दण्ड पाउनुपर्छ । जनताका घर–घरका जानुहोस् । नेकपाबाट जनमतको सदुपयोग भएन तर कांग्रेसले जहिले पनि जिम्मेवारी पूरा गरेको छ । कांग्रेसले सरकार नचाहेर पनि किन आउनुपर्यो जनजनलाइ थाहा छ ।’
महामन्त्री थापाले भने, ‘कोभिड महामारीको बेला ओली सरकारले झण्डै ८ हजार जतिको त हत्या नै गर्यो होला ! तर कांग्रेसले जनताको सेवा गरेको छ । राष्ट्रियतामा कांग्रेस इमानदार छ । जनताले मूल्यांकन गर्छन् यसपालिको चुनावमा ।’
उनले एमसीसीसीमा कम्युनिस्टहरू बेइमान बनेको फेहरिस्त सुनाए । देशले ऋण, अनुदान र सहयोग लिन्छ भन्दै उनले कांग्रेस नक्कली राष्ट्रवादी होइन भने । उनले भने, ‘कांग्रेस प्रष्ट छ कसैसँग सम्बन्ध बिगार्न चाहँदैन । नेपालबाट मान्छे हैन सामान अरब पठाउनुपर्छ र यसपालि घोषणापत्रको सट्टामा कांग्रेसले प्रतिज्ञापत्र बनाउनुपर्नेछ ।’
उनले जसले टिकट ल्याए पनि कांग्रेसका साथीहरूले एकले अर्कालाई सघाउनुपर्ने बताए । उनले सम्झाउँदै भने, ‘अन्तरघात भगवानले देख्छन्, घात गर्नु पाप हो ।’
कार्यक्रममा एमाले, माओवादी केन्द्र र राप्रपाबाट करिब ८० जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेता थापा लगायतले स्वागत गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै क्षेत्र नं ६ का सांसद तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले कांग्रेसको इतिहास सम्झाउँदै राजतन्त्र फाल्ने र कम्युनिस्टहरूलाई मुलधारमा कांगेसले नै ल्याएको बताए ।
हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको र संसदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो भन्नेहरू आज कहाँ छन् ? भन्दै प्रश्न गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली झुटको खेती गर्न माहिर भएको दाबी गर्दै कांग्रेसले नराम्रो केही नगरेको बताए ।
संविधान र संसद बचाएर कांग्रेसले सरकारको नेतृत्व गरेको उनको जिकिर छ । आफ्नो ४४ बर्षको राजनीतिको स्मरण गर्दै प्रधानले राजनीतिमा प्रतिबद्धता, निरन्तरता र धैर्यता चाहिने बताए ।
विधान र लोकतन्त्र बमोजिम पार्टी चल्नुपर्ने बताउँदै इमानदार बने कांग्रेसभित्र सबैको पालो आउने बताए । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण (सबुज) बानियाँले कांग्रेसको एकतालाई कसैले तोडन नसक्ने र निर्णायक जनता नै भएको बताए ।
जसले जिते पनि कांग्रेसले राम्रो उम्मेदवार छान्न सक्नुपर्ने भन्दै उनले एमसीसीमा कांग्रेस प्रष्ट रहेको र कांग्रेसले भ्रम र यथार्थलाई जनताको हात–हातमा पुर्याएको बताए ।
कार्यक्रमलाई कांग्रेस बागमती प्रदेश सदस्य हरिहर अधिकारी, नेका क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेका क्षेत्र नं ६ अन्तर्गत प्रदेश ख का सभापति विष्णुभक्त तिमल्सिना, नेका टोखा नगर सभापति ओमकृष्ण विमली, नेपाली कांग्रेस क्षेत्र नं ५ की सचिव रजनी थापा र टोनपा ८ का वडाध्यक्ष केशव बहादुर खत्रीले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रम नेका टोखा नपा ८ का एकाइ सभापति उत्तम थापाको सभापतित्वमा भएको थियो ।