arrow

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा पोखरा आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
Gagan-bishwoprakash.jpg

पोखरा । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पोखरा आउने भएका छन् । नेपाली लेखक सङ्घको सातौं राष्ट्रिय अधिवेशन उद्घाटनका लागि थापा र शर्मा पोखरा आउने भएका हुन् ।

नेपाली लेखक सङ्घले पहिलो पटक काठमाडौं बाहिर पोखरामा राष्ट्रिय अधिवेशन गर्न लागेको हो । अधिवेशन यही चैत १८ र १९ गते हुनेछ ।

सङ्घको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले पोखरा अधिवेशनलाई निकै महत्त्वका साथ हेरिएको छ । अधिवेशनमा देशभरबाट करिब ३०० प्रतिनिधि सहभागी हुने सङ्घले जनाएको छ । 

सङ्घका महासचिव एवं अधिवेशन आयोजक समिति संयोजक डा. रत्नमणि नेपालका अनुसार अधिवेशन लेखक सम्मेलनका रूपमा विकास गरिनेछ । सो अवसरमा साहित्य र संस्कृति सम्बन्धित पाँच विषयमा छलफल गरिने उनले बताए ।

अधिवेशन अन्तर्गत बुधबार लेखक नरहरि आचार्यको कृति जीवनको पाठशालामाथि परिचर्चा हुने आयोजक समितिका सदस्य सचिव एवं सङ्घका सचिव नवीनचन्द्र घिमिरेले जानकारी दिए ।

यस्तै, चैत १९ गते बिहान बेगनास तालमा पुगेर पर्यटन साहित्य कार्यक्रम गरिने भएको छ । अधिवेशनका अवसरमा श्रष्टाहरु वैरागी काँईला, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुङ्गाना र तेजनाथ घिमिरेलाई सम्मान गरिने उनले बताए ।

२००८ सालमा विश्वेश्वर प्रसाद कोइरालाको सक्रियताका स्थापित सङ्घको ५७ जिल्लामा शाखा विस्तार भएका छन् । साहित्य  र पर्यटनको हिसाबले महत्त्वपूर्ण स्थान भएकाले पोखरामा अधिवेशन गर्न लागिएको आयोजकले जनाएको छ ।



नयाँ