आर्थिक सङ्कटले थला परेपछि सडकमा जडित बत्ती बन्द गर्दै श्रीलंका
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
695
Shares
काठमाडौं । श्रीलंकाले बिजुली बचत गर्न सडकमा जडित बत्तीहरू बन्द गर्न थालेको छ । वर्षाैंको अस्तव्यस्त अर्थव्यवस्थाका कारण अहिले श्रीलंका आफू स्वतन्त्र भए यताकै चरम आर्थिक सङ्कटमा छ ।
विदेशी मुद्रा अभावका कारण सरकारले इन्धन आयातको भुक्तान गर्न नसक्दा करिब २ करोड २० लाख जनसङ्ख्या भएको यो टापु राष्ट्र दिनमा १३ घण्टासम्म विद्युत् कटौतीको सामना गरिरहेको छ ।
'हामीले पहिले नै अधिकारीहरूलाई विद्युत् संरक्षणमा मद्दत गर्न देशभरका सडक बत्तीहरू बन्द गर्न निर्देशन दिएका छौं,' ऊर्जा मन्त्री पवित्र वान्नियारचीले पत्रकारहरूलाई भनेकी छन् ।
भारतले श्रीलंकालाई ५० करोड अमेरिकी डलरसम्म ऋणमा डिजेल उपलब्ध गराएको छ । तर, पनि स्थिति चाँडै सुधार हुने सम्भावना नरहेको ऊर्जा मन्त्री वान्नियारचीले बताएकी छन् ।
'हामीले गर्न सक्ने अरू केही छैन,' उनले भनेकी छन् । कोलम्बो स्टक एक्सचेन्जले ब्रोकरहरूको अनुरोधमा यस हप्ताको बाँकी समयको लागि पावर कटौतीको कारणले गर्दा दैनिक कारोबारलाई साढे चार घण्टाबाट घटाएर दुई घण्टामा झारेको छ ।