arrow

यमनमा युद्ध समाप्तिको सङ्केत : राष्ट्रपतिद्वारा शक्ति हस्तान्तरण, साउदीले अर्बौं डलर दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
yemen-persident.PNG

काठमाडौं। यमनका राष्ट्रपतिले उपराष्ट्रपतिलाई बर्खास्त गर्दै आफ्नो शक्ति राष्ट्रपति परिषद्मा हस्तान्तरण गरेको बताएका छन्। 

विनाशकारी युद्ध अन्त्यका लागि हुथीहरुसँग वार्ता गर्न आग्रह गर्दै साउदी अरेबियाले यमनलाई अर्बौं डलर सहायता दिने भएसँगै उनले युद्ध अन्त्यका लागि शक्ति हस्तान्तरण गरेका हुन् ।

राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले बिहीबार नयाँ निकायले राष्ट्रपति र उपराष्ट्रपति दुवैको जिम्मेवारी सम्हाल्ने बताएका हुन्।

साउदी अरेबियाको राजधानी रियादमा भएको शान्ति वार्ताको अन्तिम दिन बिहीबार बिहानै एक टेलिभिजन वक्तव्यमा बोल्दै हादीले भने,'म अपरिवर्तनीय रूपमा राष्ट्रपति नेतृत्व परिषद्लाई मेरो पूर्ण शक्ति सुम्पन्छु।'

उनको घोषणापछि साउदी अरेबियाले युद्धले क्षतिग्रस्त यमनको अर्थतन्त्रलाई उकास्न ३ अर्ब अमेरिकी डलरको व्यवस्था गरिरहेको बताएको छ।

२ अर्ब डलर रियादबाट आउने र थप १ अर्ब संयुक्त अरब इमिरेट्स (युएई) बाट आउने साउदीले जनाएको छ । युएई यमनमा साउदी नेतृत्वको सैन्य गठबन्धनको हिस्सा हो । यसले इरान समर्थित अथवा गठित हुथीहरूविरुद्ध हादीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्दछ।

यस्तै रियादले यमनमा अन्तर्राष्ट्रिय सम्मेलनको लागि पनि आह्वान गरेको सरकारी मिडियाले जनाएको छ ।

हुथीहरूले राजधानी सानालाई कब्जामा लिएपछि सन् २०१४ को अन्त्यदेखि यमन युद्ध जारी छ । सन् २०१२ मा दुई वर्षको संक्रमणकालीन अवधिका लागि निर्वाचित हादीको सरकार ठूलो विरोधी प्रदर्शन भएपछि दक्षिण यमन भागेको थियो ।

लामो समयदेखि चलिरहेको द्वन्द्वलाई संयुक्त राष्ट्र सङ्घले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटको रूपमा वर्णन गरेको छ।

यतिबेला राष्ट्रसङ्घको मध्यस्थतामा भएको दुई महिनाको युद्ध विरामको पहिलो हप्तामा देश छ। सन् २०१६ पछि यो पहिलो राष्ट्रव्यापी युद्ध विराम हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ