श्रीलङ्कामा सर्वदलीय सरकार बनाउन तयार छु : राष्ट्रपति राजापाक्षे
एएनआई,
प्रकाशित २०७९ वैशाख १४ बुधबार
915
Shares
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले सर्वदलीय सरकार बनाउन आफू तयार रहेको बताएका छन् ।
आफू सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिदै उनले संसद्मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको स्पष्ट पारे ।
देशको अहिलेको आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने जिम्मेबारी सबैको भएकाले सबै सहभागी सरकार बनाएर काम गर्नु पर्नेमा उनले जोड दिए ।
उनले सबै दलका नेताहरूलाई सर्वदलीय सरकार निर्माणका लागि छलफलमा आउन समेत बुधबार सन्देश प्रवाह गरे ।
सरकार भित्रको संरचना, वरियता, भागबन्डालगायत विषयमा छलफल गर्न आफू खुला रहेको पनि राष्ट्रपति राजापाक्षेले स्पष्ट पारे ।
उनले सर्वदलीय सरकार गठनका बारेमा छलफल गर्न आगामी शुक्रबार सत्तारुढ गठबन्धनको बैठक समेत आयोजना गरे ।
श्रीलङ्कामा आर्थिक संकट सुरु भएपछि महङ्गी र अभाव सृजना भएको थियो भने त्यसै कारणले आम नागरिक आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनका कारण हिंसात्मक घटनाहरू समेत भएपछि राजनीतिक सङ्कट समेत उत्पन्न भएको छ । आन्दोलनकारीहरूले अहिलेको सरकारकै कारणले आर्थिक तथा राजनीतिक सङ्कट उत्पन्न भएको आरोप लगाउदै आएका छन् ।
आम नागरिक र आन्दोलनकारीहरूको दबावका कारण राष्ट्रपति राजापाक्षे सर्वदलीय सरकार गठनका लागि तयार भएको बताइएको छ । ्