काठमाडौं । श्रीलंका शान्त हुने अवस्था देखिएको छैन । एकातिर आर्थिक संकट अनि अर्कातिर सरकार समर्थक र सरकार विरोधीबीच आपसमा मारकाट भइरहेको छ ।
सोमबार साँझमात्र राजधानी कोलम्बोसमेत देशका कयौं क्षेत्रमा सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडप हुँदा सरकार समर्थक पार्टीका एक सांसदको ज्यान गएको छ । अमरकीर्ति अथुकोरलाको मृत्यु भएको हो ।
श्रीलंकाली मिडियाका अनुसार उनी आफ्नो कारमा सुरक्षाकर्मी र ड्राइभरसँगै निटामबुवामा एक सडकबाट अगाडि बढ्दै थिए । उनको कारमा रातोबत्ती थियो । त्यसै सडकमा सयौं सरकारविरोधी प्रदर्शनकारीहरु थिए ।
उनीहरुले कारलाई घेरे । नाराबाजी गरे । सांसद अमरकीर्ति रीसले बाहिर निस्के । व्यक्तिगत पेस्तोलबाट भीडमा फायरिङ गरे । दुई जना गम्भीर घाइते भए । त्यसपछि सांसद छेउँको एक भवनमा लुके ।
केही समयपछि उनको शव त्यहीँबाट बरामद भयो । अझैसम्म उनको मृत्यु भीडले गर्दा भयो वा अन्य कुनै कारणले भयो भन्ने नखुलेको पनि श्रीलंकाली मिडियाले बताएका छन् ।
केही रिपोर्टका अनुसार उनले भीडबाट मारिनु भन्दा आफूले आफूलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने पनि बताइएको छ ।
हिंसात्मक भीडले पूर्व मन्त्री जान्सटन फर्नान्डाको माउन्ट लाविनिया क्षेत्रमा रहेको आलिशान घरमा आगो लगाइदिएका छन् ।
उनको परिवारलाई नै बचाइएको छ । त्यस्तै अर्का एक सांसद सनथ निशान्थाको घरमा पनि आगो लगाउने कोसिस भएको छ । देशभर हिंसात्मक गतिविधि हुन थालेपछि राष्ट्रपति गोटबाया राजपक्षेले प्रमुख शहरहरुमा सेना तैनाथ गर्न सक्ने अनुमान गरिएको छ ।
हिंसामा सोमबारमात्रै चार जनाको ज्यान गइसकेको बताइएको छ । त्यस्तै ११९ जना घाइते भएका छन् ।
यता विपक्षीहरुको दबाब खेप्न नसकेर आर्थिक संकट बढ्दै गएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । उनले सोमबार आफ्नो राजीनामा पत्र राष्ट्रपतिलाई पठाएका हुन् ।
राष्ट्रपति गोटाबाया राजापाक्षे प्रधानमन्त्रीका भाइ हुन् । यस्तै कम्तीमा दुई क्याबिनेट मन्त्रीहरूले पनि आफ्नो राजीनामा घोषणा गरेको बताइएको छ ।श्रीलङ्काका अधिकारीहरूले सोमबार राष्ट्रव्यापी कर्फ्यू लगाएका छन् ।
यस्तै सरकार समर्थक समूहहरूले गोटाबाया राजापाक्षको कार्यालय बाहिर प्रदर्शनकारीहरूमाथि आक्रमण गरेपछि राजधानीमा सेना परिचालन समेत गरिएको छ । यस क्रममा कम्तिमा ७८ जना घाइते भएको बताइएको छ ।
महिन्दा राजापाक्षेले प्रधानमन्त्रीको पदबाट राजीनामा दिन सक्छन् भन्ने कुरा आएपछि नै हिंसा भएको थियो । अर्को सूचना जारी नभएसम्म तत्काल प्रभावकारी हुने गरी देशव्यापी कर्फ्यू लगाइएको थियो ।