arrow

जल्दै लंका

गृहयुद्धतिर श्रीलंका, १२ बढी मन्त्रीको घर जलाइयो, आधा दर्जन बढीको ज्यान गयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
srilanka-agitation-firing-2022.jpg

काठमाडौं । श्रीलंका सोमबारदेखि तनावग्रस्त बनेको छ । हिंश्रक प्रदर्शनमा आधा दर्जनबढीको ज्यान गइसकेको छ भने दुई सय बढी घाइते भएका छन् । यो स्थिति हेर्दा आर्थिक संकटको चपेटामा परेको श्रीलंका गृहयुद्धतिर धकेलिएको विश्लेषण गरिएको छ । 

सोमबार प्रधानमन्त्री महिन्दा राजापाक्षेले विपक्षीको दबाबमा पदबाट राजीनामा दिएपछि एकाएक श्रीलंकाका अधिकांश क्षेत्रमा हिंसा फैलिएको छ । उनको राजीनामापछि दुःखी भएका समर्थकले एकाएक हिंसात्मक घटना गराएका छन् । त्यसपछि विपक्षीसमेत उग्र बनेका छन् । जसले जहाँ भेट्यो त्यहीँ सिध्याउने खेलमा लागेका छन् । 

राजापाक्षेका समर्थकले कोलम्बो छाडेर जाने कोसिस गरेपछि उनीहरुमा गाडीमा ठाउँठाउँमा निशाना बनाएर तोडफोड गरिएको छ । प्रदर्शनकारीहरुले राजपक्षको पुर्ख्यौली घरसमेत आगो लगाएर जलाइदिएका छन् । कोलम्बोमा पूर्व मन्त्री जोन्सन फर्नान्डोलाई कारसहित तालमा फ्याँकिएको छ । 

अहिलेसम्म १२ बढी मन्त्रीहरुका घर जलाइसकिएको छ । प्रधानमन्त्रीको आधिकारिक आवास ‘टेम्पल ट्री’ को मुख्य गेट तोडेर ट्रकमा आगो लगाइएको छ । 

त्यसपछि आवासभित्र गोलीबारीसमेत भएको छ । भीड नियन्त्रण गर्न प्रहरीले थुप्रै सेल अश्रुग्यास र हवाइफायर गरेको छ । 

सोमबार साँझमात्र राजधानी कोलम्बोसमेत देशका कयौं क्षेत्रमा सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडप हुँदा सरकार समर्थक पार्टीका एक सांसदको ज्यान गएको छ । अमरकीर्ति अथुकोरलाको मृत्यु भएको हो ।

श्रीलंकाली मिडियाका अनुसार उनी आफ्नो कारमा सुरक्षाकर्मी र ड्राइभरसँगै निटामबुवामा एक सडकबाट अगाडि बढ्दै थिए । उनको कारमा रातोबत्ती थियो । त्यसै सडकमा सयौं सरकारविरोधी प्रदर्शनकारीहरु थिए ।

उनीहरुले कारलाई घेरे । नाराबाजी गरे । सांसद अमरकीर्ति रीसले बाहिर निस्के । व्यक्तिगत पेस्तोलबाट भीडमा फायरिङ गरे । दुई जना गम्भीर घाइते भए । त्यसपछि सांसद छेउँको एक भवनमा लुके ।

केही समयपछि उनको शव त्यहीँबाट बरामद भयो । अझैसम्म उनको मृत्यु भीडले गर्दा भयो वा अन्य कुनै कारणले भयो भन्ने नखुलेको पनि श्रीलंकाली मिडियाले बताएका छन् ।

केही रिपोर्टका अनुसार उनले भीडबाट मारिनु भन्दा आफूले आफूलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने पनि बताइएको छ । 

हिंसात्मक भीडले पूर्व मन्त्री जान्सटन फर्नान्डाको माउन्ट लाविनिया क्षेत्रमा रहेको आलिशान घरमा आगो लगाइदिएका छन् । 

उनको परिवारलाई नै बचाइएको छ । त्यस्तै अर्का एक सांसद सनथ निशान्थाको घरमा पनि आगो लगाउने कोसिस भएको छ । देशभर हिंसात्मक गतिविधि हुन थालेपछि राष्ट्रपति गोटबाया राजपक्षेले प्रमुख शहरहरुमा सेना तैनाथ गर्न सक्ने अनुमान गरिएको छ । 

विपक्षीहरुको दबाब खेप्न नसकेर आर्थिक संकट बढ्दै गएपछि प्रधानमन्त्री महिन्दा राजापक्षेले राजीनामा दिएका हुन् । 

राष्ट्रपति गोटाबाया राजापाक्षे प्रधानमन्त्रीका भाइ हुन् । श्रीलंकामा सोमबार राष्ट्रव्यापी कर्फ्यू लगाइएको छ । 

यस्तै सरकार समर्थक समूहहरूले गोटाबाया राजापाक्षेको कार्यालय बाहिर प्रदर्शनकारीहरूमाथि आक्रमण गरेपछि राजधानीमा सेना परिचालन समेत गरिएको छ । 

महिन्दा राजापाक्षेले प्रधानमन्त्रीको पदबाट राजीनामा दिन सक्छन् भन्ने कुरा आएपछि नै हिंसा भएको थियो । अर्को सूचना  जारी नभएसम्म तत्काल प्रभावकारी हुने गरी देशव्यापी कर्फ्यू लगाइएको हो । 

यसैबीच अमेरिकाले हिंश्रक गतिविधिलाई नियालिरहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ