राजनीतिको सागर महाभारत हो। महाभारत काव्य मात्र नभएर दैवीगुण युक्त वीर वीराङ्गनाहरूको गौरवशाली आख्यान हो। महाभारतका प्रत्येक श्लोकले राजनैतिक अर्थ एवं प्रभाव पार्ने सामथ्र्य राखेका छन्। महाभारतका प्रत्येक प्रसङ्गमा काव्यको सिर्जना हुन सक्दछ । महाभारतलाई उपजीव्य बनाएर हजारौँ सिर्जना एवं नीतिको प्रादुर्भाव भएको छ । सोही नीति मध्ये विदुरनीति पनि एक हो।
महर्षि वेदव्यासबाट प्रणीत महाभारत अठार भागमा विभक्त छ । जसलाई पर्व भनेर नामाकरण गरिएको छ। महाभारतको उद्योगपर्व अन्तर्गत यो विदुरनीति रहेको छ । पाण्डवपक्षको बाह्र वर्षको वनबास र एकवर्षको गुप्तवास व्यतीत गरेपछि आफ्ना कुलकुटुम्ब र बन्धुबान्धवहरूसँग युद्ध गरेर राज्य पाउनु भन्दा आपसी मेलमिलापबाट नै केही भूमि अंश लिँदा उपयुक्त हुने बुझेर युधिष्ठिरले राजपरम्परागत तरिकाले नै अंशको दावा गरेका थिए।
आफ्ना कुलकुटुम्ब र बन्धुबान्धवहरूसँग युद्ध गरेर राज्य पाउनु भन्दा आपसी मेलमिलापबाट नै केही भूमि अंश लिँदा उपयुक्त हुने बुझेर युधिष्ठिरले राजपरम्परागत तरिकाले नै अंशको दावा गरेका थिए।
द्रुपद प्रदेशका महाराज द्रुपद(द्रौपदीका पिता)का राजगुरु अनन्तवर्णलाई दूत बनाएर पठाइएको थियो। महाराज धृतराष्ट्रद्वारा अध्यक्षता गरिएको उक्त राजसभामा युधिष्ठिरको मागसहितको सन्देशमाथि व्यापक छलफल भयो। एक आपसमा गरेको सही छलफलले बल्ल निष्कर्ष (तत्व) मा पुर्याउँछ।
राजसभाले युद्धभन्दा मेलमिलापको बाटो अवलम्बन गर्नुपर्ने कुरा निर्णय गर्यो। सञ्जयलाई पाण्डवतर्फ मेलमिलापको बाटो अवलम्बन गरौँ भन्ने सन्देश सहित पठाएपछि राजा धृतराष्ट्र व्याकुल बनेका थिए। सञ्जय आएपछि समयाभावले गर्दा धृतराष्ट्रले भेट्न सकेनन्। आफ्नो विस्तारामा सुतेर सञ्जयले कस्तो खवर ल्याए होलान् ? अब पछिको राजनीति कस्तो हुने हो ? भन्ने आशङ्का, उपशङ्का खेलाउन थाले। उनी निदाउन सकेनन्। आफ्नो अशान्त मनलाई शान्त बनाउन सक्ने काम विदुरले बाहेक कसैले गर्न सक्दैनन् भन्ने निक्र्योल गरी राती नै विदुर बोलाइएका थिए। राजनैतिक कर्मले गर्दा व्याकुल भएका धृतराष्ट्रलाई विदुरले विभिन्न किसिमका राजनैतिक, धार्मिक उपदेश गरेर मनलाई शान्त बनाइदिएका थिए। यही प्रसङ्ग नै कालान्तरमा विदुरनीतिको नामले प्रसिद्ध भएको छ।
विदुर आफैमा धृतराष्ट्र सरकारको महामन्त्री पनि भएको, आफ्नो विद्वताको कारणले गर्दा राजनैतिक ज्ञान दिने सामथ्र्य राखेका छन्। महाभारतका निष्पक्ष पात्र विदुर हुन्। जसले महाभारतका युद्धमा कतैतर्फ नलागी तीर्थाटनमा निस्किएका थिए । विदुरका राजनीति सम्बन्धि धेरै उद्गारहरू छन्। यहाँ विदुरका केही राजनैतिक उद्गारहरू उल्लेख गरिएको छ। विदुरनीतिमा धृतराष्ट्र विदुर संवाद, अध्यात्मज्ञान, उत्तमकर्म, एकता, कर्तव्य-अकर्तव्य, कुलीनता, गृहपति कर्तव्य, जितेन्द्रियता, दुःख–सुख, निन्दनीय कर्म, पण्डित, बुद्धिमान्, मानिस, मित्रता, मुर्ख, राजाका कर्तव्य र गुण, श्रेष्ठ गुण, प्रचलित नीति लगायतका विषयमा विदुरले प्रवचन गरेका छन्। विदुरनीति पूर्ण व्यावहारिक भएको कुरा बुझ्न सकिन्छ। यहाँ राजकीय शासकका कर्म कर्तव्यहरूलाई मात्र सार रूपमा विवेचना गरिएको छ।
राजकर्तव्य :
प्वालभित्र बसिरहने जीवलाई सर्पले जसरी खाइदिन्छ त्यसरी नै पृथ्वीले पनि शत्रुहरूको सामना नगर्ने राजालाई र परदेश भ्रमण नगर्ने ब्रह्मचारी, सन्यासीलाई पनि पृथ्वीले मन पराउन्नन्। यस किसिमका मानिसहरूको पतन यथाशीघ्र हुन्छ।
विदुरले राजालाई सदैव क्रियाशील रहन निर्देश गरेका छन्। सदैव चनाखो र क्रियाशील रहनु राजाको विशेष गुण हो । एकदिनको बेहोसी तथा निष्क्रियताले पूरा राज्यसुख गुम्न सक्दछ। राज्यको अखण्डता गुम्छ तसर्थ राजा वा शासक सदैव क्रियाशील रहनु पर्दछ।
शासकको प्रगति :
मानिसहरूमा आफूप्रति विश्वास पैदा गराउन सक्ने अपराध प्रमाणित भएको व्यक्तिलाई मात्र दण्ड सजाय गर्ने, सजाय गर्दा पनि न्यूनाधिक मात्रा र क्षमाको उपयोग जान्ने यी गुणहरूले युक्त राजालाई सदाकाल सम्पूर्ण ऐश्वर्य प्राप्त हुन्छ। समाजमा रहेका जो सुकैलाई पनि आफ्नो सामथ्र्यले विश्वास जगाउने सामथ्र्य राख्नुपर्दछ। अन्य जोसुकैलाई पनि आफ्नो बोलिबचन ,विद्वत्ता ,कर्म ,सामथ्र्यले विश्वासमा ल्याउन सक्नुपर्दछ।
राजसभा, भारदारी सभा वा न्यायालयको अपराधी तोकेको मान्छेलाई मात्र दण्ड सजाय गर्ने व्यवस्था गर्नुपर्दछ। राजा वा शासकले आफ्नै बलले बुद्धिले दण्डित गराउने व्यवस्थाले मानिसहरूमा राजाप्रति नराम्रो भावना विकास हुन्छ। कसैलाई सजाय दिँदा पनि गल्तीको प्रकृति अनुरूप धेरै थोरै तथा क्षमाको उपयोग गर्नुपर्दछ। जसले गर्दा राजाको कीर्ति बढ्दछ। यस्ता कुरा व्यवहारमा आएपछि बल्ल राजाले प्रगति गर्न सक्दछ।
शासक अथवा राजालाई राज्यको आयस्रोत, अवस्था, लाभ, हानी, सेवा, परिवेश आदिको यथार्थ थाहा हुँदैन त्यो राज्य संचालनका लागि अयोग्य हुन्छ। राजाले राज्यको लाभ, हानि, स्थिति, कोष, ढुकुटी आदिको यथार्थ जानकारी राख्दै धर्म र अर्थलाई राम्ररी बुझ्न खोज्दछ। उसले राज्य शासन टिकाउँछ। आफ्नो राज्यको स्रोत अवस्था बारे पूर्ण जानकार रहनु राजाको विशिष्ट गुण हो। राज्यको प्रत्येक अङ्गको बारेमा जानकारी राख्ने सामथ्र्य राजामा रहनुपर्दछ।
शासक अथवा राजालाई राज्यको आयस्रोत, अवस्था, लाभ, हानी, सेवा, परिवेश आदिको यथार्थ थाहा हुँदैन त्यो राज्य संचालनका लागि अयोग्य हुन्छ।
राज्यका सम्पूर्ण निकायको कर्तव्य र अधिकार बारे शासक वा राजा बुझेको हुनुपर्दछ। अनि बल्ल राजाले प्रगति गर्न सक्दछन्। राज्य र राजा अकञ्टक रहन्छन्। राजा-शासक फूल फूल्ने फल नलाग्ने वृक्षजस्तो हुनुपर्दछ। फलले लटरम्म भएता पनि कोही पनि रुखमा चढ्न नसकुन्। काँचो फल भए पनि पाकेको फल झैँ गरी आफुलाई प्रस्तुत गर्ने राजा शक्तिमान् हुन्छन्।
जनताले राजा वा शासकलाई हेरेर चित्त बुझाउनुपर्छ। राजाको सुन्दर कर्मको बारेमा जानुपर्छ।अथवा जनताका बीचमा राजाको लोकप्रियता रहनुपर्दछ। राजाले केही नगरे पनि राजाप्रतिको अनुरागलाई अक्षुण्ण राख्न उपाय रच्नुपर्दछ। जनताहरूको पहुँच बाहिर आफू भएको भान पार्दै शक्ति सम्पन्न जस्तो गरेर प्रस्तुत हुनुपर्दछ। यस्ता राजा वा शासकहरूले राज्य भोग गर्दछन् । राजाले आँखाले हेरेर, बोलेर, काम गरिदिएर, माया गरेर जनतालाई खुशी बनाउनु पर्दछ। विदुरले राजनैतिक षड्गुणहरूको बारेमा पनि बताएका छन्। जसरी वेद नपढेको ब्राह्मणको श्राद्ध गराउने अधिकार हुँदैन त्यसरी नै राजनैतिक षड्गुणहरूलाई नबुझी गोपनीय विषय थाहा पाउने अधिकार पनि हुँदैन।
छ वटा गुणहरू सन्धि, विग्रह, यान, आसन, द्वैधीभाव र समाश्रय हुन्। राज्यको शासन सत्ता सम्हाल्ने शासक वा राजालाई ६ वटा राजनैतिक गुणहरूको अवलम्बन गर्नै पर्ने हुन्छ। ६ वटा गुणहरूबारे जानकार मात्र गोपनीय सल्लाहको लागि योग्य हुन्छ। विदुर नीतिका सम्पूर्ण पक्षहरूलाई यहाँ समेट्न नसकिए तापनि विदुरको व्यक्त गरेका उद्गारहरू जीवन्त छन्। विदुरले राजा धृतराष्ट्रलाई धर्म र राजनीतिका जुन शाश्वत मूल्यहरूबारे उपदेश दिएका थिए।
छ वटा गुणहरू सन्धि, विग्रह, यान, आसन, द्वैधीभाव र समाश्रय हुन्। राज्यको शासन सत्ता सम्हाल्ने शासक वा राजालाई ६ वटा राजनैतिक गुणहरूको अवलम्बन गर्नै पर्ने हुन्छ। ६ वटा गुणहरूबारे जानकार मात्र गोपनीय सल्लाहको लागि योग्य हुन्छ।
ती उपदेशहरूको महत्व अहिले पनि घटेको छैन। मानव जीवनमा सुख प्राप्त गर्न जे जति अनैतिक शत्रुहरूद्वारा आक्रमण भोगिन्छ त्यस्ता आक्रमणबाट बचेर समाजले सुख र चैन हासिल गर्न सक्दैन। तबसम्म मानवले धर्मनीति, राजनीति र यिनका आधारभूत सिद्धान्त बुझेको हुँदैन। विदुरले दिएका नीति, वचन र उपदेश मानवजीवनको निम्ति एउटा प्रकाश स्तम्भ हो। जसद्वारा मानवता सधैँभरि आलोकित भइरहेको छ।
विदुरबाट धृतराष्ट्रलाई उपदेश गरिएका धर्म, अर्थ, काम र मोक्षका कुराहरूले समाजलाई सही मार्गमा लाग्न प्रेरणा प्रदान गरेको छ। धर्म, न्याय, कर्म र निष्ठाले परिपूर्ण भएका विदुरका उपदेशहरूले पथप्रदर्शक भई सदैव लोककल्याणकारी बनेर मानव जीवनलाई सार्थक पार्न उन्मुख भएका छन्। विदुरनीति सच्चा राजनैतिक चरित्रवादीहरूका लागि अनन्य श्रोत हो।