arrow

बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत [पूर्णपाठ]

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ जेठ १६ सोमबार
278589971_727365964974780_8768181785429674478_n.png

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८०को लागि सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको छ । बागमती प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

त्यस्तै, उच्च शिक्षा पढ्नका लागि ‘छोरी–बुहारीलाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको छ ।

त्यस्तै हेटौंडा, भक्तपुर, त्रिशूली, सिन्धुली, धादिङ, बकुलहर र पशुपति चौलागाई स्मृति अस्पताललाई विशिष्टिकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालको रूपमा स्तरोन्‍नति गर्ने, हेटौंडा अस्पताललाई दुई सय बेडको अस्पतालमा स्तरोन्‍नति गरी धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा समेत विस्तार गर्ने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विस्तार र सुदृढीकरण गर्दै लगिनेछ। प्रतिष्ठान अन्तर्गतको आफ्नै अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

त्यस्तै प्रदेश सरकारले स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपमा आधारित लघु, घरेलु तथा साना उद्योगहरूलाई प्रोत्साहन गर्ने, प्रदेश भित्रका साना तथा मझौला उद्यमीहरूको प्रशासकीय क्षमता अभिवृद्धि गर्ने, हालसम्म घोषणा भएका उद्योग ग्रामहरूको पूर्वाधार विकास कार्य सम्पन्न गरिने, चितवन, मकवानपुर र सिन्धुलीमा नयाँ औद्योगिक क्षेत्रको निर्माणको कार्य सुरू गरिने तथा प्रदेशभित्रका औद्योगिक क्षेत्रमा रहेका रुग्ण उद्योगहरुको सञ्चालनका लागि सङ्घीय सरकारसंग सहकार्य गरिने प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

त्यस्तै  प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गर्ने, पशु स्वास्थ्य तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा “एक वडा एक पशु स्वास्थ्य क्लिनिक” कार्यक्रम सञ्चालनमा ल्याउने, प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।

त्यस्तै आत्मनिर्भर कृषिः समृद्ध प्रदेश भन्ने नारालाई सार्थकता दिन कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकिकरण गरिने भएको छ भने अण्डा, माछामासु, आलु प्याज, लसुन र अदुवा लगायतका वस्तुहरुमा आत्मनिर्भर बनाउन कार्यक्रमहरु सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रदेश सरकारले प्रदेश भित्रका गरिव तथा बिपन्न कम्तीमा दश हजार युवालाई रोजगारी प्रदान गर्न ‘मुख्यमन्त्री सीप विकास तथा रोजगार कार्यक्रम’ सञ्चालन गरिने प्रदेश प्रमुख शर्माले बताउनुभयो । त्यस्तै प्रदेश गौरवको आयोजनाको रूपमा फर्पिङ-हुमाने भञ्ज्याङ-कलंकी-हेभी सडक यसै आर्थिक वर्षमा निर्माण शुरु गर्ने र बागमती प्रदेश चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन शुरु गरिने भएको छ ।

प्रदेशसभाको अर्को बैठक आगामी जेठ १८ गते बस्ने गरी स्थगित गरिएको छ । उक्त बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल हुनेछ । 

प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यस्तो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ