arrow

बागमतीमा बानियाँ प्रभाव, कांग्रेसलाई बनाए एमालेको भन्दा दोब्बर बढी हैसियत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
indra-baniya-congress-bagmati-pradesh-sabhapati.jpg

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा राम्रो सफलता हासिल गर्यो । ७५२ पालिकामध्ये ३२९ स्थानमा प्रमुख पद कांग्रेसले जितेको छ । ७५३ मध्ये एक पालिकाको नतिजा आउन बाँकी छ । यो कूल स्थानको ४४ प्रतिशत हुन आउँछ । 

त्यस्तै उपप्रमुखमा ७५२ मध्ये ३०० स्थानमा जित्न सफल भएको छ । जुन ४० प्रतिशत हुन आउँछ । प्रदेशगत आधारमा सात वटै प्रदेशमा सबैभन्दा नेपाली कांग्रेस नै अगाडि छ । 

सबैभन्दा बढी सफलता बागमती प्रदेशमा हासिल गरेको छ । जहाँ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भन्दा कांग्रेसले दोब्बर बढी स्थानमा जित हासिल गर्न सफल भएको छ । 

बागमतीमा कांग्रेसले ५८ स्थानमा प्रमुख र उपप्रमुख पद जितेको छ भने एमालेले मात्र २५ स्थान जितेको छ । बागमतीमा यसरी नेपाली कांग्रेसलाई ठूलो सफलता दिलाउनमा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको सबैभन्दा ठूलो भूमिका रह्यो । 

गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनबाट बागमती प्रदेशका सभापति बन्न सफल बानियाँले स्थानीय तहमा कांग्रेसलाई जिताउने एक सूत्रीय अभियान चलाएका थिए । 

त्यही अभियानले नै उनको योजना सफल भयो । पार्टीको जिम्मेवारी बहन गरेपछि बागमती प्रदेशसभा संसदको कांग्रेस संसदीय दलका नेतासमेत रहेका बानियाँले आफूलाई अब्बल सावित गर्न सफल भएका हुन् । 

सत्तागठबन्धनको सहमतिअनुसार उनी केही समयमै बागमती प्रदेशको मुख्यमन्त्रीसमेत बन्ने चर्चा छ । गठबन्धनको सहमतिअनुसार आधा कार्यकाल नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका छन् । अब बानियाँको पालो आएको छ । उनी वेटिङ चिफ मिनिस्टर हुन् । 

बागमतीमा कांग्रेसले स्थानीय तहमा हासिल गरेको सफलतामा सिङ्गो कांग्रेसका नेताहरुलाई पनि जश जान्छ । तर मुख्य भूमिका भने बानियाँले खेलेको भन्दै सम्बन्धित जिल्ला सभापतिहरु प्रशंसा गर्छन् । 

नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति रमेशकुमार महत सिंगो कांग्रेसको शक्ति एक भएको स्मरण गर्छन् । उनले भने, ‘यो त समग्र पार्टीका जिम्मेवार नेताहरु, साथीहरु, बागमती प्रदेश यसै पनि सांगठनिक रुपले राम्रै थियो । कतिपय जिल्लामा गठबन्धनका कारणले पनि राम्रो भाको छ । कतिपय अवस्थामा निर्वाचनको तयारीको अवस्थामा थियो ।’

उनले प्रदेश सभापति इन्द्र बानियाँले खेलेको भूमिकाको प्रशंसा गरे । उनले भने, ‘उहाँको भूमिका राम्र्रै छ । गठबन्धन गर्नलाई कतिपय सवालमा, जिल्लामा भएको विवादलाई सल्टाउने काम भएको छ । त्यसका अतिरिक्त बेलाबेलामा मनिटरिङ गर्ने, निर्वाचन भइरहेका गतिविधिलाई प्रत्यक्ष रुपले सरोकार राखेर बुझ्ने काम पनि भएको छ । जसले गर्दा निर्वाचनलाई सहज भएको छ ।’

सभापति महतले प्रदेश र संघको चुनावमा पनि स्थानीय तहको निर्वाचनको परिणामले राम्रो होला भन्न सकिने बताउँछन् । उनले भने, ‘बेस भनेको त स्थानीय तहको चुनाव नै हो । यसमा नेपाली कांग्रेसले जुन किसिमले मत प्राप्त गरेको छ र स्थानीय तहमा जुन परिणाम आएको छ यसले संघीय र प्रदेश चुनावमा अवश्य पनि सहयोग पुर्याउँछ ।’ 

स्थानीय तहको निर्वाचनमा कांग्रेसभित्र अन्तर्घात भएको बारेमा स्पष्ट पार्दै उनले भने, ‘टिकटको दावेदार धेरै हुन्छन् । टिकट नपाउँदाखेरी असन्तुष्टि हुने खालको गतिविधि त स्वभाविक हो । तर पहिलेजस्तो जसरी विरोधमा लाग्ने गतिविधि हुन्थ्यो यसपालि छैन । सामान्य असन्तुष्टि हो । पहिले पार्टीको उम्मेदवारलाई असहयोग गर्ने, अन्तरघात गर्ने खुलेआम हुन्थ्यो अहिले छैन । पार्टीको निर्णय विपरीत जान्छ भने हामी कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं भन्ने निर्णयहरु पनि भयो । उम्मेदवारले स्वघोषणा गर्न नपाउने, पार्टीको निर्णय भएपछि गर्ने भन्ने पनि भयो । यी कारणहरुले गर्दा पनि साथीहरुलाई अनुशासनमा रहनका लागि काम गरेको छ ।’ 

रसुवाका कांग्रेस जिल्ला सभापति पेम्बा छिरिङ तामाङ समग्र जश पार्टीलाई जाने बताउँछन् । उनी केन्द्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापतिले भूमिका खेलेको बताउँछन् ।  

प्रदेश सभापतिको सक्रियता अझ बढी भएको उनको दाबी छ । भन्छन्, ‘उहाँको सक्रियतामै यो सफलता भएको हो । गठबन्धन गर्न पनि उहाँको भूमिका छ । कुनै ठाउँमा त उहाँ आक्रामक भएर लाग्नुभयो ।’

उनले गठबन्धन गर्दा भने केही ठाउँमा सफलता र केही ठाउँमा असफलता हात लागेको बताएका छन् । उनले भने, ‘कुनै ठाउँमा सफल भयो कुनै ठाउँमा चाहिँ अलिकति विवाद जस्तै भयो । हाम्रो रसुवामा त गठबन्धन सुखद भएन । समग्रमा प्रदेशसँगै देशभर गठबन्धनकाे ठीक परिणाम देखियाे । कांग्रेसको पनि राम्रो भएको छ ।’

जेहोस् यसपालिको स्थानीय तहको निर्वाचनमा कांग्रेसले हासिल गरेको सफलताले मतदाताको विश्वास कांग्रेस रहेको स्पष्ट हुन्छ । त्यसमाथि बागमतीमा प्रदेश सभापति एवं प्रदेश सभा कांग्रेस संसदीय दलका नेता बानियाँले खेलेको भूमिकाको कांग्रेसका नेताहरुले सराहनीय भनेका छन् । 

बानियाँ संघीय मन्त्रीमन्डलमा मन्त्री भइसकेका नेता हुन् । उनले २०७४ सालअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको भूमिका निभाएका थिए । त्यस्तै गृहराज्यमन्त्री पनि भए । 

तर २०७४ को निर्वाचनमा उनी प्रदेशबाट चुनाव लडे । कांग्रेसको रणनीतिअनुसार उनी प्रदेशको मुख्यमन्त्री बन्ने गरी नै प्रदेशबाट चुनाव लडेका हुन् । सोही कारण उनी बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेतासमेत भए । 

उनी वेटिङ चिफ मिनिस्टरका रुपमा रहिरहेका छन् । उनले स्थानीय तहको निर्वाचनबाटै प्रमाणित गरे कि कांग्रेसभित्र मात्र हैन समग्र राजनीतिक वृत्तमा पनि मिलाएर अगाडि बढ्न सक्छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ