arrow

पश्चिमाको सामना गर्न बेलारुसलाई आणविक हतियार सक्षम मिसाइल दिँदै पुटिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
putin lukashenko.jpg

काठमाडौं । बेलारुसका राष्ट्रपतिले आफ्नो सीमा नजिकै आणविक हतियारधारी नेटो उडानहरू हुन थालेको गुनासो गरेपछि रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्षम मिसाइलहरू प्रदान गर्ने भएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले शनिवार मास्कोमा बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोलाई स्वागत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

'आउँदो महिनाहरूमा हामी बेलारुसलाई इस्कान्डर एम रणनीतिक मिसाइल प्रणाली हस्तान्तरण गर्नेछौं, जसले परम्परागत र आणविक संस्करणहरूमा ब्यालिस्टिक वा क्रूज मिसाइलहरू प्रयोग गर्न सक्छ,' सेन्ट पीटर्सबर्गमा पुटिनले लुकासेन्कोसँगको भेटको सुरुमा भनेको कुरा रुसी टेलिभिजनमा प्रसारणमा गरिएको थियो ।

बैठकमा लुकासेन्कोले बेलारुसका छिमेकी लिथुआनिया र पोल्याण्डको आक्रामक, द्वन्द्वात्मक र प्रतिरोधी नीतिहरूको बारेमा चिन्तासमेत व्यक्त गरेका छन् ।

आफ्नो देशको सीमा नजिकै अमेरिकी नेतृत्वको गठबन्धनले आणविक हतियारधारी उडान गरेको भन्दै लुकासेन्कोले पुटिनलाई प्रतिक्रियाका लागि आह्वान गरेका छन् ।

यस्तै युक्रेनलाई लिएर पश्चिमसँगको बढ्दो तनावको बीचमा पुटिनले बेलारूसी युद्धक विमानहरूलाई आणविक हतियार बोक्न सक्षम बनाउन अपग्रेड गर्ने प्रस्तावसमेत गरेका छन् ।

गत महिना लुकासेन्कोले आफ्नो देशले रुसबाट इस्कान्डर आणविक सक्षम क्षेप्यास्त्र र एस-४०० एन्टि-एयरक्राफ्ट एन्टी-मिसाइल प्रणाली किनेको बताएका थिए।

'धेरै एसयु-२५ विमा बेलारूसी सेनासँग सञ्चालनमा छन्। तिनीहरू उपयुक्त तरिकामा स्तर वृद्धि गर्न सकिन्छ,' पुटिनले भनेका छन्. 'यो आधुनिकीकरण रुसी विमान कारखानाहरूमा गरिनु पर्छ र कर्मचारीहरूको प्रशिक्षण यसै अनुसार सुरु गर्नुपर्छ। हामी यसलाई कसरी पूरा गर्ने भन्नेमा सहमत हुनेछौँ।'

फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेदेखि पुटिनले धेरै पटक आणविक हतियारहरूको विषय उठाएका छन् । जसलाई पश्चिमले हस्तक्षेप नगर्ने चेतावनीको रूपमा हेरिएको छ ।

नेटोले युक्रेनलाई स्वीकार गर्ने र रुसलाई धम्की दिने मञ्चको रूपमा प्रयोग गर्ने योजना बनाएको आरोप मास्कोले लगाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ