छुट्टिने बेलामा उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाए, अन्योलमा भट्टराई पक्ष
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
869
Shares
काठमाडौं । जनता समाजवादी पार्टी जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूह सौहार्दपूर्ण तरिकाले छुट्टिन लागेको बेला जसपाका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
उनले यही असार २७ र २८ गते वीरगञ्जमा बैठक डाकेका हुन् । उक्त बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले अझै निष्कर्ष निकालेका छैनन् । यस विषयमा छलफल गरेर चाँडै निष्कर्ष निकाल्ने तयारी भएको भट्टराई पक्षधर नेता तथा कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले बताए ।
आफू निकट व्यक्तिहरूसँग छलफल गरेर बोलाइएको केन्द्रीय समितिको बैठकको वैधानिकतामा प्रश्न उठेको उनको भनाइ छ । भट्टराई पक्षधर नेताहरूले बिहीबार आफू निकट नेताहरूको छुट्टै बैठक गरेका थिए ।
त्यस बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले नै पार्टीलाई विभाजन गराउन खोजेको निष्कर्ष निकालिएको थियो । बुधबार भट्टराई र यादवबीच छुट्टै भेट भएको थियो । उक्त भेटमा दुई जना नेतामात्र सहभागी थिए ।
त्यस छलफलमा संघीय परिषदका अध्यक्ष डा. भट्टराईले नै सौहार्दपूर्ण किसिमबाट छुट्टिऔं भनी प्रस्ताव राखेको यादव निकट नेताहरूले जनाएका छन् । तर भट्टराई निकट नेताहरूले भट्टराईबाट यस्तो प्रस्ताव नआएको दाबी गरेका छन् ।
‘उहाँ (यादव) ले नै पार्टी फुटाउन खोज्नु भएको छ । पार्टी फुटोस् भनेर नै अतिरञ्जित कुरा गरिरहनु भएको छ’ भट्टराई निकट एक कार्यकारिणी सदस्यले भने, ‘सौहार्दपूर्ण ढंगबाट छुट्टिऔं भनेर उहाँले आफै भन्नु भएको हो तर बाहिर भट्टराईज्यूले भन्नु भयो भनेर प्रचार गरिरहनु भएको छ ।’
यादव र भट्टराईबीच भेट भएपछि बुधबार साँझ जसपाको संसदीय दलको अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकमा कार्यकारिणी अध्यक्ष यादवले भट्टराईबाट ‘सौहार्दपूर्ण किसिमबाट छुट्टिऔं’ भनी प्रस्ताव आएको ब्रिफिङ गरेका थिए ।
स्रोतका अनुसार पछिल्लो समय पार्टीभित्र भट्टराई पक्ष अल्पमतमा परेको छ । भट्टराईलाई खुलेर साथ दिएका इस्तियाक राई र प्रदीप यादव कित्ता परिवर्तन गरी यादवतिर पुगेका छन् ।
अहिले उनीहरु आफैं भट्टराईलाई कारबाही गर्न कार्यकारिणी अध्यक्षलाई उचाल्ने काम गरिरहेका छन् । पछिल्लो समय भट्टराईलाई महेन्द्र यादव र राजकिशोर यादवले खुलेर साथ दिएका छन् ।
भट्टराई निकट नेताका अनुसार अन्तिम अवस्थासम्म पनि आफूहरुले कित्ता परिवर्तन नगर्ने आश्वासन महेन्द्र र राजकिशोरले दिलाएका छन् ।
यता भट्टराईलाई पार्टीबाट हटाएर एकल ढंगबाट चलाउने निष्कर्षमा उपेन्द्र यादव पुगेका छन् । यादव निकट अर्का एक नेताले भने, ‘भट्टराई र भट्टराई निकट नेताहरू गाली गलौज नगरी पार्टीबाट अलग होउन् भन्ने उहाँ (यादव) को चाहना रहेको देखिन्छ । भट्टराई र भट्टराई निकट नेताहरू जसपाबाट अलग भएपछि पार्टीलाई तराई मधेस केन्द्रित गरी अघि बढ्ने यादवज्यूको चाहना रहेको बुझिएको छ ।’
त्यसो त यादवबाट अलग हुने चाहना भट्टराई पक्षधर नेताहरूको पनि छ । त्यसको लागि पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत जुटाउन भट्टराई पक्षलाई गाह्रो भएको स्रोतको भनाइ छ । अहिले त्यसको लागि अत्यधिक प्रयास भइरहेको पनि स्रोतले बताएको छ ।