arrow

युक्रेन युद्धको विवाद वार्ताबाटै समाधान गर्न पुटिनलाई मोदीको आग्रह

logo
रासस–एएनआई, 
प्रकाशित २०७९ असार १७ शुक्रबार
Modi-Putin-india-russia.jpg

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा शुक्रबार टेलिफोनमा कुराकानी भएको छ । रुस–युक्रेन युद्धका बारेमा नै उनीहरूको कुराकानी केन्द्रित रहेको दुवै तर्फका अधिकारीहरूले जनाएका छन् । 

कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत् नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गरेका थिए । उनले वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने सुझाव आफूले शुरुदेखि नै राख्दै आएको र अहिले पनि त्यही अडानमा रहेको स्पष्ट पारेका थिए । 

आफू सँधै वार्ता र कूटनीतिक पहलबाट नै यस्ता कुराको निकास निकाल्न सकिन्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो । भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “युक्रेनसँगको विवादलाई कूटनीतिक र वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्छ भन्ने आफ्नो लामो समयदेखिको पक्षधरता कायमै रहेको कुरा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँग राख्नु भएको छ ।”

भारतले युक्रेनमाथि रुसले आक्रमण गरेदेखि नै आक्रमण तत्काल रोक्न र वार्ता मार्फत दुई देशीय समस्या समाधान गर्न आग्रह गर्दै आएको थियो । भारतकै पहल र दबाबमा केही वार्ता भएपनि निष्कर्ष निस्कन भने सकेको थिएन ।   

दुई नेताका बीचमा विगतमा भएका अन्य सहमति र सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको छ । 

गत वर्ष सन् २०२१ को डिसेम्बरमा पुटिनको भारत भ्रमणका क्रममा भएका सम्झौता र सहमतिको कार्यान्वयनको अवस्थाका बारेमा पनि उनीहरूले समीक्षा गरेका थिए । 

विशेष गरेर दुई पक्षीय सम्बन्ध, व्यापार, कृषि सामग्री आदान प्रदान लगायतका विषयमा पनि उनीहरूले कुराकानी गरेको अधिकारीहरूले जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ