arrow

देउवालाई चुनौती दिँदै गगनले भने –घेर्ने नाममा घिच्याउने प्रयास नगरियोस् हामी निर्वाचित महामन्त्री हौं त्यत्तिकै बस्दैनौं’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३२ शनिबार
gagan-thapa-aggressive-evergreen.JPG

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका निर्णय निर्वाचित महामन्त्रीले पत्रिका पढेर वा सामाजिक संजाल हेरेर थाहा पाउने हो भने टिप्पणी पनि पत्रिका वा सामाजिक संजालबाटै दिइने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको वीपीनगर, सानेपामा शनिबार बसेको बैठकमा महामन्त्रीले पार्टीमा सहयोग नगरेको भन्ने टिप्पणी भएपछि जवाफ दिने क्रममा थापाले सो प्रतिक्रिया दिएका हुन् । 

उनले महामन्त्रीको काम सभापति र अध्यक्षले गरेका निर्णयलाई थपडी बजाएर स्वागत गर्ने नभएको पनि स्पष्ट पारेका छन् । उनले संवैधानिक परिषदको हिसाबले महत्वपूर्ण विषय, भ्रातृ र किसान संघको जानकारी ट्वीट र समाचारबाट थाहा पाएछि जवाफ पनि त्यहीँबाट दिएको स्पष्ट पारेका हुन् । 

उनले प्रश्न गर्दै भने, ‘हामीले कहाँबाट थाहा पाउने, पार्टी सञ्चालन र सरकार यसरी चलाउने हो कि कसरी ध्यान दिनुपर्छ । पार्टी सभापति र अन्यले गरेका कामहरू हामीले बोक्ने मात्र हो ? ताली पड्काउने मात्र हो हाम्रो काम ? महामन्त्रीको काम यही हो ?’

उनले महामन्त्री पदको गरिमाबारे स्पष्ट पार्दै भने, ‘बोक्ने र ताली पड्काउने मात्र हामी होइनौं ।’

महामन्त्री थापाले विधानले भनेका कामहरु सभापतिले कलम नचोपी एउटा पनि नहुने भन्दै अगाडि भने, ‘तर साथीहरु युवाहरु आएर काम बिगारेको आरोप लगाउनु भएको छ । तर सभापतिलाई भन्न नसक्ने अनि बाहिर गएर गन्गन् गर्ने ?’

उनले गुटको बैठकमा महामन्त्री पनि सहभागी भयो भनेर गरिएको आरोपबारे स्पष्ट पार्दै भने, ‘गुटको बैठक गर्ने भनेर भन्नुभयो । यो भन्नेहरुले हिजो आफूहरुले गरेको गुटको बैठक सम्झनुहुन्छ कि हुन्न ? नत्र गुगलमा खोज्नुहोला बैठकको फोटो । जसरी हिजो ठूलो घर हुनेहरुले घरमै बैठक गरे होलान् नहुनेले पार्टी प्यालेसमा गरे होलान् । हिजो सुशील कोइरालासँग देउवाले गुटको भेला गरेको भनेर साथीहरुले कुरा लगाउनु हुन्थ्यो आज फेरि शेरबहादुर देउवासँग यही कुरा बसेर त्यही कुरा गरेका छन् ।’

उनले पार्टीमा अन्याय भयो भने गुटको भेला हुने भन्दै स्पष्ट पार्दै भनेका छन्, ‘न्याय भयो भने न गुट हुन्छ न गुटको भेला हुन्छ । त्यसैले न्याय गर्नुस् सभापति ज्यू । जहाँसम्म सामाजिक संजालमा समाचारमा टिप्पणी आएको भन्नुभएको छ हामी निर्वाचित महामन्त्री हो । हामीले पार्टी निर्णय पत्रिका पढेर थाहा पाउने हो भने टिप्पणी पनि पत्रिकामै आउँछ । होइन भने पार्टी र सरकार चलाउने क्रममा हाम्रो भूमिका के हो ?’ 

नेता थापाले आफूहरु सार्वजनिक जीवनमा भएपछि जवाफदेही हुनुपर्छ भन्दै अगाडि भने, ‘तपाईहरुले यति कुरा विचार गर्नुस् यसैगरी घेर्ने नाममा घिच्याउने प्रयास नगरियोस् हामी निर्वाचित महामन्त्री हौं । त्यत्तिकै बस्दैनौं ।’

नेता थापाले स्थानीय तहको निर्वाचनको परिणामबारे भने, ‘ठूला शहर र तराईमा घाटा लागेको हेर्नुपर्छ । प्रिएलायन्स निर्वाचनमा फरक मत थियो । हामी एक्लै लड्न र बाँच्न सकिन्छ भन्ने साथीहरू हुनुहुन्थ्यो । सभापति खुशी बनाउन जे भनियो यसले पार्टी हित हुँदैन । सभापति खुशी बनाउन गरिएको कुराले पार्टी र सभापतिलाई फाइदा हुँदैन । सरकारको कामले मत पाउँछौ । हिजो सरकार कसरी चलाउनुपर्छ ओलीलाई भन्यौं तर आज कसरी चलेको छ देखिरहेका छौं । अझै कति रक्षा गर्ने सरकारको ?’

उनले अर्र्थ मन्त्रालय कांग्रेसले नलिएर पार्टीलाई ठूलो हानी भएको भन्दै अगाडि भने, ‘अर्थ मन्त्रालय नलिनु गलत भयो । सरकार छ भन्ने अनुभूति खै हामीलाई भएन ।’

 नेता थापाले सभापति देउवालाई दिएको जवाफले केही अताल्लिएका देउवाले छोटो प्रतिक्रिया दिँदै भने, ‘महामन्त्री ज्यू कहिलेकाहीं फोन पनि उठाउने गर्नुस् न ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ