- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालका कम्युनिष्टहरु आदर्शका लागि भन्दा पनि पदका प्रतिस्पर्धी भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिन्ता व्यक्त गरेका छन् । स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले समर्पणको भाव हराउँदै गएको बताए ।
प्रचण्डले भने,' अहिले आदर्शका लागि समर्पित भएर काम गर्ने भन्दा व्यक्तिगत पद प्रतिष्ठा फाइदा इत्यादि को लागि नै बढी प्रतिस्पर्धा भएको छ । हिजो क्रान्तिकारी बन्नको लागि प्रतिस्पर्धा हुन्थ्यो । अहिले व्यक्तिवादी र अराजकतावादी स्वार्थी बन्नका लागि प्रतिस्पर्धा हुने हो कि भन्ने खतरा बढेको छ ।'
प्रचण्डले अहिले कम्युनिष्ट आन्दोलनमा विचलन र विसङ्गति मौलाएको बताए । नरबहादुर कर्माचार्यलाई सम्झिँदै प्रचण्डले अग्रजहरूले गरेको इमानदार प्रतिबद्धता अहिले हराउँदै गएको बताए । कम्युनिष्ट सिद्धान्त र आचरणप्रति इमानदारिता नदेखिएको उनको टिप्पणी छ । आदर्शको निम्ति समर्पित भएर काम गर्ने भन्दा व्यक्तिगत पद, प्रतिष्ठा, फाइदा इत्यादिका निम्ति नै प्रतिस्पर्धा बढेको प्रचण्डले बताए ।
उनले भने,'अहिले सिङ्गै कम्युनिष्ट आन्दोलन र हाम्रै पार्टीभित्र पनि थुप्रै खालका विचलन, विसङ्गति, ती वैचारिक विचलनको रूपमा, चरित्र र आचरणको विचलनका रूपमा धेरै चिज देखा परेका छन् । कहिलेकाहीँ त यो बडो डरलाग्दो जस्तो लाग्छ मलाई ।'