भागेर सिंगापुर पुगेका गोटाबाया राजापाक्षेलाई उतैबाट पक्राउ गर्न उजुरी
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
548
Shares
काठमाडौं । दक्षिण अफ्रिका आधारित एक अधिकारवादी समूहले श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेलाई युद्ध अपराधको आरोपमा पक्राउ गर्न अनुरोध गर्दै सिंगापुरको महान्यायाधिवक्तालाई आपराधिक उजुरी पेश गरेको छ।
इन्टरनेशनल ट्रुथ एन्ड जस्टिस प्रोजेक्ट (आईटीजेपी)का वकिलहरूले ६३ पृष्ठको उजुरी पेस गरेका छन् । जसमा राजापाक्षेले सन् २००९ मा रक्षा सचिव हुँदा गृहयुद्धका क्रममा जेनेभा महासन्धिको गम्भीर उल्लंघन गरेको र यी अपराधहरू सिङ्गापुरमा सार्वभौमिक अधिकार क्षेत्र अन्तर्गत घरेलु अभियोगको विषय भएको उल्लेख गरिएको छ ।
कानुनी उजुरीमा गोटाबाया राजापाक्षेले श्रीलंकामा गृहयुद्धको समयमा अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय फौजदारी कानून उल्लंघन गरेको आरोप छ ।
जसमा हत्या, फाँसी, यातना र अमानवीय व्यवहार, बलात्कार, यौन हिंसा, स्वतन्त्रताको वञ्चितता, गम्भीर शारीरिक र मानसिक हानि, र भोकमरीलगायतका आरोप उल्लेख गरिएको छ ।
चरम आर्थिक संकटमा रहेको श्रीलंका अहिले यो अवस्थामा आइपुग्नुपछाडि राजापाक्षे परिवारकै हात रहेको बताइन्छ । अहिले देश छोडेर भागेका पूर्व राष्ट्रपति सिंगापुरमा लुकेर बसेका छन् । उनलाई अब, त्यहाँबाटै पक्राउ गर्न उजुरी परेको हो ।