arrow

राजधानीको गरिमालाई कहिलेसम्म कालो पोत्छ फोहरको डंगुरले ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
fohar108.jpg

काठमाडौं । काठमाडौं उपत्यकाको एकमात्र फोहर विसर्जन गर्ने क्षेत्र सिसडोलका बासिन्दा आन्दोलित बनेको वर्षौं बित्यो । त्यहाँका बासिन्दाले सहज र वैज्ञानिक रुपमा फोहर विसर्जन गर्नका लागि राज्यसँग पटक–पटक माग गरे । नेताहरु गुहारे, उनीहरुका दैलो–दैलो पनि चहारे ।

तर अहिलेसम्म सिसडोल क्षेत्रको समस्या समाधान हुन सकेको छैन । सिसडोलको समस्याकै कारण राजधानीका बासिन्दा दुर्गन्धमा बस्न बाध्य छन् । राजधानीवासीलाई सहज रुपमा फोहोर व्यवस्थापन गर्छु भनेर एजेन्डा उठाएका काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले पनि केही गर्न सकेको अवस्था भने छैन ।

मेयर साहले काठमाडौंको फोहर व्यवस्थापन गर्न आफूसँग थुप्रै विकल्पहरु भएको बताउँदै चुनाव जितेका थिए । वर्षौंदेखि फोहरको डंगुरमा बसेर अनेक थरिका रोगलाई निम्तो दिइरहेका काठमाडौंवासीले वालेन्द्रको र्यापमा विश्वास गरेरै उनलाई जिताएका हुन् । 

तर अहिले राजधानीमा थुप्रिएको फोहरले उनका एजेन्डा र भनाइहरुलाई गिज्याइरहेका छन् । त्यसो त धेरैजसो मन्त्रीका भवन पनि काठमाडौं उपत्यकामै छन् । उनीहरुलाईसमेत कुनै लाज लागिरहेको छैन । 

राजधानीमा विभिन्न चोक–गल्लीहरुमा अहिले फोहरको डंगुर यत्रतत्र देख्न सकिन्छ । जनताले चाँडो फोहोर व्यवस्थापनको काम महानगरले गरिदेओस् भन्ने पर्खाइमा छन् । तर फोहरको समस्या उस्तै छ ।

बाटोमा हिँड्नै पनि सकस छ । बटुवाहरु ‘उफ् ’ फोहोरको डंगुर कहिलेसम्म ?’ भन्दै नाक थुनेर गन्तव्य तताउनुको विकल्प देख्दैनन् ।

फोहर विसर्जन गर्ने क्षेत्र अर्थात् सिसडोल जाने सडक अहिले बिग्रिएर गाडी चल्नै नसक्ने भएको छ । त्यहाँको सडक मर्मत हुन नसक्दा काठमाडौंको फोहर सडकमै थुप्रिएका छन् । 

रातो पुल छेउमा पनि फोहरको पहाड नै लागेको छ । ‘ल्यान्डफिल साइटतर्फ जाने खण्डमा सडक मर्मतको कार्य जारी छ, पूरा भएपछि मात्र पुनः राजधानीको फोहर उठाउन शुरु गर्नेछौं,’ काठमाडौं महानगरले भनेको छ ।

त्यसो त सिसडोलवासीको पनि बिजोग छ । जहिले पनि उधारोमा सहमति गर्छन् कसैले त्यसलाई पूरा गर्नेतर्फ अग्रसर भएनन् । उधारोको सम्झौता यसपालि नगर्ने मनस्थितिमै छन् सिसडोलवासी । 

यसर्थ जनतालाई स्वच्छ वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकारलाई महानगरले यथासम्भव पूरा गरोस् । जनताले धेरै चाहेका छैनन् । घरअगाडिकै फोहरको पहाड, सडक किनारका फोहरका डंगुरलाई जतिसक्दो चाँडो व्यवस्थापन होस् भन्ने महानगरवासीको अपेक्षा पनि छ ।

आखिर राजधानीको गरिमालाई कहिलेसम्म कालो पोत्छ फोहरको डंगुरले ? 

fohar101.jpg
फोहरको डंगुर
fohar102.jpg
fohar103.jpg
fohar104.jpg
fohar105.jpg
fohar106.jpg
fohar107.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ