- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। आज बस्ने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी पदाधिकारीको नाम टुङ्गो लगाउने भएको छ । आज बिहान बस्ने स्थायी समिति बैठकमा पदाधिकारीको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्दै छन् ।
यसअघि प्रचण्डले ४१ सदस्यीय स्थायी कमिटी सदस्यको टुङ्गो लगाएका थिए । स्थायी समिति, पदाधिकारी र पोलिट्ब्यूरो समिति टुङ्ग्याउने बारेमा माओवादी केन्द्रको स्थायी समितिको बैठक निरन्तर बस्दै आएको छ।
गत वर्षको पुस महिनामा माओवादीले आठौँ महाधिवेशन गरेको थियो । सोही महाधिवेशनबाट प्रचण्ड अध्यक्षमा चुनिएका थिए । अहिलेसम्म एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन हुन बाँकी रहेको छ ।
प्रचण्डले नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गर्ने सम्भावना रहेको छ । उनले गत असारमा श्रेष्ठ र महरालाई अघि सारेका थिए। उपाध्यक्ष पम्फा भुसाल बन्ने सम्भावना छ ।
महासचिवमा अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, हरिबोल गजुरेल र देव गुरुङको दाबी रहेको छ । महासचिवमा दाबी गरेका शर्मा र पुनलाई प्रचण्डले उपमहासचिवमा प्रस्ताव गर्ने सम्भावना पनि छ।
प्रचण्डले देव गुरुङ अथवा हरिबोल गजुरेलमध्ये एकलाई महासचिव बनाउने तयारी गरेका छन् । सचिवमा लीलामणि पोखरेल, शक्ति बस्नेत, देवेन्द्र पौडेल, मातृका यादव, चक्रपाणि खनालको सम्भावना रहेको छ ।
हिजो दिउँसो ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले पदाधिकारीको नाम अध्यक्ष प्रचण्डले अब बस्ने बैठकमा टुङ्गो लगाउने बताए ।