- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचनअघि नै पदाधिकारीको टुंगो लगाउन कस्सिएको माओवादी केन्द्रको स्थायी समिति बैठकले अझै पदाधिकारी टुंगो लगाउन सकेको छैन । शुक्रबार बिहान बसेको बैठकमा महासचिवमा सात जनाले दाबी गरेपछि शुक्रबारको बिहानको बैठक स्थगित भएको थियो । बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले शनिबार बैठक बसेर पदाधिकारीको टुंगो लगाउने बताए ।
पदाधिकारी टुंगो लगाउन शुक्रबार बिहान माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो । अझै पनि पदाधिकारी चयनमा विवाद कायमै रहेकाले माओवादी केन्द्रले भोलिसम्म थप गृहकार्य गर्ने भएको हो ।
बिहीबार पार्टी महासचिवमा देवप्रसाद गुरुङको नाममा सहमति जुटेको बताइएको थियो तर शुक्रबार बिहान वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुषाल, शक्ति बस्नेत र गिरिराजमणी पोखरेलले पनि दाबी गरेपछि गुरुङलाई पनि अप्ठेरो परेको छ ।
बुधबार बसेको पार्टीको बैठकले पदाधिकारी बाहेक सबै समितिको टुंगो लगाइसकेको छ । उपाध्यक्षमा स्थायी कमिटी सदस्यहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुषाल र हरिबोल गजुरेलको नाम अनुमोदन भए पनि भुषाल र गजुरेलले महासचिवमा पनि दाबी गरेपछि शुक्रबार बिहान विवाद भएको थियो ।
गत पुस १८ गते सम्पन्न भएको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो । केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भनिए पनि बाँकी सदस्यहरु मनोनयन हुन बाँकी रहेको थियो ।
त्यस्तै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीसमेत मनोनयन हुन सकेको थिएन । महाधिवेशनपछि माओवादी अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन भएका थिए । धेरै पटक बैठक बस्दा पनि सबैभन्दा बढी महासचिव कसलाई बनाउने भन्नेमा विवाद रहेका कारण माओवादीलाई पदाधिकारी चयनमा सकस परिरहेको छ ।
पार्टी अध्यक्ष प्रचण्डले महासचिवमा देव गुरुङको नाममा खल्तीमा बोकेर हिँडेका छन् । यद्यपि उनले मुख खोलिसकेका छैनन् । यस विषयमा पनि प्रचण्डले पार्टीका नेताहरुसँग अनौपचारिक रुपमा छलफल गरिसकेका छन् ।
गुरुङ महासचिव बन्ने भएपछि नै अन्य उपाध्यक्ष पद नराखी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष एक एक जना मात्रै राख्ने गरी माओवादी अगाडि बढेको छ । त्यसो हुँदा अहिले महासचिव दाबी गरिरहेका वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल लगायतका नेताहरु उपमहासचिव बन्नेछन् ।
त्यस्तै शक्ति बस्नेत, मातृका यादव, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल पनि उपमहासचिव बन्ने स्रोतको दाबी छ । प्रचण्डले शुक्रबारै दुई तीन वटा कार्यक्रम भ्याउनु पर्ने भएकाले शुक्रबारको बैठक स्थगित गर्नु परेको माओबादीका एक स्थायी समिति सदस्यले बताए ।