arrow

महासचिवका लागि सातबीच रस्साकस्सी, प्रचण्डले एकको नाम पढ्दा छ जनाले बजाउनु पर्ने थपडी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
maobadi-kendra-mahasachiv-competitior.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ । यद्यपि यो साताको शुरुआतदेखि नै पदाधिकारीको टुङ्गो लगाउन भन्दै बैठक बस्दै स्थगित हुँदै आएको छ । 

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आजको बैठकले पदाधिकारीको संख्यालगायत विषय टुंगो लगाउने छ । गत वर्षको पुसमा पार्टीको आठौं महाधिवेशन सकिए पनि अहिलेसम्म पदाधिकारी चयन हुन सकेको छैन । 

अध्यक्षपछिको सबैभन्दा आकर्षित र शक्तिशाली पद महासचिवका लागि तँछाडमछाड भएसँगै निर्णय प्रक्रिया लम्बिएको छ । यद्यपि निर्वाचनअघि नै पदाधिकारीको टुंगो लगाउन माओवादी कस्सिएको छ । 

शुक्रबार बिहान बसेको बैठकमा महासचिवमा सात जनाले दाबी गरेपछि बैठक स्थगित भएको थियो । बैठकपछि महराले शनिबार बैठक बसेर पदाधिकारीको टुंगो लगाउने बताएका थिए ।

बिहीबार पार्टी महासचिवमा देवप्रसाद गुरुङको नाममा सहमति जुटेको बताइएको थियो तर शुक्रबार बिहान वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुषाल, शक्ति बस्नेत र गिरिराजमणि पोखरेलले पनि दाबी गरेपछि गुरुङलाई पनि अप्ठेरो परेको छ । 

बुधबार बसेको पार्टीको बैठकले पदाधिकारी बाहेक सबै समितिको टुंगो लगाइसकेको छ । उपाध्यक्षमा स्थायी कमिटी सदस्यहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुषाल र हरिबोल गजुरेलको नाम अनुमोदन भए पनि भुषाल र गजुरेलले महासचिवमा पनि दाबी गरेपछि शुक्रबार बिहान विवाद भएको थियो ।

गत पुस १८ गते सम्पन्न भएको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो । केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भनिए पनि बाँकी सदस्यहरु मनोनयन हुन बाँकी रहेको थियो । 

त्यस्तै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीसमेत मनोनयन हुन सकेको थिएन । महाधिवेशनपछि माओवादी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन भएका थिए  । 

धेरै पटक बैठक बस्दा पनि सबैभन्दा बढी महासचिव कसलाई बनाउने भन्नेमा विवाद रहेका कारण माओवादीलाई पदाधिकारी चयनमा सकस परिरहेको छ ।

पार्टी अध्यक्ष प्रचण्डले महासचिवमा देव गुरुङको नाममा खल्तीमा बोकेर हिँडेका छन् । यद्यपि उनले मुख खोलिसकेका छैनन् । यस विषयमा पनि प्रचण्डले पार्टीका नेताहरुसँग अनौपचारिक रुपमा छलफल गरिसकेका छन् । 

गुरुङ महासचिव बन्ने भएपछि नै अन्य उपाध्यक्ष पद नराखी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष एक एक जना मात्रै राख्ने गरी माओवादी अगाडि बढेको छ । त्यसो हुँदा अहिले महासचिव दाबी गरिरहेका वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल लगायतका नेताहरु उपमहासचिव बन्नेछन् । 

त्यस्तै शक्ति बस्नेत, मातृका यादव, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल पनि उपमहासचिव बन्ने स्रोतको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ