arrow

झान्सुले भेट राष्ट्रपति भण्डारीलाई, भयो शिष्टाचार वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
FullSizeRender-14-09-22-04-30-2.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग  जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको छ । 

राष्ट्रपति भण्डारीसँग अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता लि नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष झान्सु सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् । 

भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गरी सहयोग सम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अध्यक्ष लि भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहेका थिए ।  

प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे । प्रनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

मङ्गलबार नै अध्यक्ष लि र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदान–प्रदान र सहकार्यका विषयमा छलफल भएको थियो । 

मङ्गलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लिले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

मङ्गलबार दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको थियो । 

अध्यक्ष लि नेतृत्वमा छ चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अन्यसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष लि भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

FullSizeRender-14-09-22-04-30-4.jpg
FullSizeRender-14-09-22-04-30-3.jpg
FullSizeRender-14-09-22-04-30-2.jpg
FullSizeRender-14-09-22-04-30-1.jpg
FullSizeRender-14-09-22-04-30.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ