- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा नेत्रविक्रम चन्द विप्लव समूह छाडेर नेता बेदुकाजी घिमिरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राजधानीमा भएको एक कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले घिमिरेलाई पार्टीमा भित्र्याए ।
घिमिरेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य सिताराम विश्वकर्मा ‘सागर’ सहित लोसपा नेतासँगै नेकपा एमालेका नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
लोसपा केन्द्रीय सदस्यसँगै लोसपा बागमती प्रदेश उपाध्यक्ष नवराज भण्डारी, काठमाडौं जिल्ला उपाध्यक्ष नवराज भण्डारी, माओवादी केन्द्रका नेता मुकुन्दप्रसाद सेढाई, एमाले नेतृ वर्षा सुनारसहितका पाँच दर्जन नेताहरुलाई कांग्रेस महामन्त्री गगनकुमार थापाले भित्र्याएका हुन् ।
घिमिरे विप्लव नेकपाका काठमाडौं जिल्ला कार्यसमिति सदस्य एवं सचिवालय सचिव हुन् । उनी बुढानीलकण्ठका इन्चार्जसमेत हुन् । त्यस्तै बुढानीलकण्ठका सहकारी समन्वय समिति संयोजक पनि हुन् ।
उनी २०५८ साल नेकपा माओवादीमा प्रवेश गरेका थिए । उनी त्यहाँबाट छाडेर मोहन वैद्य किरणको पार्टीमा आए । विचार विभाजित हुँदै आएपछि विप्लव छुट्टिएर छुट्टै पार्टी बनाएपछि घिमिरे पनि विप्लवसँगै आए ।
तर उक्त पार्टीमासमेत विचलन आएसँगै घिमिरे गत बैशाख १८ गते राजीनामा दिएर बसेका थिए ।
उनलाई यसअघि काठमाडौं ४ का एमाले उम्मेदवार राजन भट्टराईले पनि आफ्नो पार्टीमा आउन आग्रह गरेका थिए । तर उनले गगन थापामात्र देश बनाउने नेता भएको भन्दै कांग्रेसमा आएको बताए ।
उनले नेपालमा कम्युनिष्ट पार्टीको नाममा दुर्नाम गरेको भन्दै २१ वर्ष समय व्यतित गरेपछि झल्याँस्स ब्युँझिएको बताए ।
घिमिरेले अहिले एक्लै कांग्रेसमा आएका हुन् । उनले भने, ‘अहिले म एक्लै आएको हुँ । विस्तारै साथीहरु पनि आउनु हुन्छ ।’
उनले आफूलाई कांग्रेसभित्र समकक्षता दिने आश्वासन पाएको बताए ।