arrow

सरकार र पार्टी नेतृत्वको कार्यशैलीप्रति गगन थापा आक्रोशित, विद्रोह गर्ने बेला आएको चेतावनी  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
gagan-thapa-party-prabesh-2079.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको दुखेसो पोखेका छन् । शुक्रबार बिहान राजधानीको चाबहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले विद्रोह गर्ने बेला आएको बताएका हुन् । 

सोही कार्यक्रममा उनले डेंगी नियन्त्रणमा समेत सरकार असफल भएको भन्दै चर्को आलोचना गरे । हिजोका दिन विपक्षी सरकार भएका बेलामा कोरोना नियन्त्रण गर्न नसकेको भन्दै आफूहरुले आलोचना गरेको तर अहिले त्यो पाठ नसिकी डेंगी नियन्त्रणमा आफ्नो सरकार हुँदा पनि केही काम नगरेको भन्दै आलोचना गरेका हुन् । 

उनले सरकार निर्वाचनलगायत अन्य कुरामा मात्रै केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको उनको गुनासो थियो । महामन्त्री थापाले डेंगीका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपतकालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्यूनीकरण गर्ने अभियान शुरु गर्नुपर्ने बताए ।

उनले सरकारले महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने जिकिर गरे। उनले आफू स्वास्थ्यमन्त्री रहँदा बनाएको बीमा विधेयक, ऐन लागू भएको भए बीमा गरेका नेपाली नागरिकहरुले अस्पतालको शैय्यामा सुतिसकेपछि खल्तीबाट एक रुपैयाँ पैसा पनि तिर्नुपर्ने अवस्था नआउने दाबी गरे ।

उनले गठबन्धन चुनाव जित्नका लागि मात्र भएको उल्लेख गर्दै अघिल्लो निर्वाचनदेखि आउँदो निर्वाचनसम्म पार्टी गोलचक्करमा मात्रै चलेकाले अब पार्टीभित्र संघर्ष गर्ने बेला आएको जिकिर गरे । 

महामन्त्री थापाले पार्टी भित्र न्याय र सन्तुलन नभएको व्यापक गुनासो आइरहेको भन्दै अब पार्टभित्र संघर्षको आवश्यकता हुन थालेको बताए । उनले भने, ‘‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ ।’ 

झण्डै अढाइ सय जनालाई विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा भित्र्याउँदै नेता थापाले युवाको समर्थनले आफूमा यस्ता विकृतिलाई चिर्ने साहस थपिएको भन्दै युवालाई निराश नबनाउने प्रतिवद्धतासमेत व्यक्त गरे । 



नयाँ