- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली राजनीतिमा बाँचुन्जेल राजनीति गर्ने चलन छ । त्यसैले त कसैले चुनाव नलड्ने घोषणा गर्यो भने पनि त्यो समाचारको प्राथमिकतामा पर्छ ।
त्यही प्राथमिकतामा परेका छन् माओवादीको सशस्त्र युद्ध लडेका तीन भेट्रान नेताहरु । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व सभामुख कृष्णबहादुर महरा र र वर्तमान सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ को चुनाव नलड्ने घोषणा गरेका हुन् ।
भट्टराई र महराले यसअघि नै घोषणा गरिसकेका हुन् भने सापकोटाले उम्मेदवारी दर्ताको एक दिनअघि मात्र उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
तीन पटक लगातार प्रतिनिधि सभामा पुर्याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगामी निर्वाचनमा सहभागी नहुने घोषणा सापकोटाले गरेका हुन् ।
संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा क्रियाशील रहने उनले बताएका छन् ।
उनले यसअघि सिन्धुपाल्चोचक क्षेत्र नम्बर १ बाट जितेका थिए । तीनै नेताको आगामी योजना स्पष्ट छैन ।
सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र मानिन्छन् । त्यसो त महरा पनि उनका विश्वास पात्र हुन् ।
तर दुवै विश्वास पात्रले यसरी निर्वाचनको होडबाट टाढिँदा भने विभिन्न अड्कल काट्न थालिएको छ ।
बाबुरामले विभिन्न पार्टी चहारेका भए पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट चुनाव लड्ने बताएका थिए । तर उनले ‘सरप्राइज’ रुपले छाडेका थिए ।
अग्नि सापकोटाले पनि ‘सरप्राइज’ नै दिएका छन् । उनले शनिबार दिउँसो पत्रकार सम्मेलन गरेरै आफू चुनावी होडबाट टाढिएको बताएका हुन् ।
प्रचण्डलाई तनाव हुँदा ‘रिफ्रेस’ गराउन लैजाने अग्नि नै थिए । तर उनको नाम सिन्धुपाल्चोकबाट सिफारिस हुँदासमेत उनी पछाडि हट्नुको कारण भने रहस्यमै छ ।