arrow

गगनले कपनवासीलाई दिए बाचाः खहरे खोलाको समस्या दुई वर्षभित्रै समाधान गर्छु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
gagan-thapa-2079-07-25.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने दाबी गरेका छन् । उनले दुई वर्षमा खहरेको समस्या समाधान गर्न नसकेमा फेरि मत माग्न नआउने प्रतिबद्धता पनि जनाए ।

कपनका घरदैलोका क्रममा ९३ वर्षीया वृद्धाले थापालाई टीका लगाइ दिँदै राम्रोसँग पढ्न र फस्ट भएर आउन आशीर्वाद दिएकी थिइन् । निर्वाचनका लागि मत माग्न कपनस्थित खहरे खोलाको बस्तीमा गएका बेला उनले खोलाको व्यवस्थापनका लागि आफ्नो प्रक्रिया अगाडि बढाइसकेकाले अबको दुई वर्षमा काम पूरा हुने जानकारी दिए । 
 
खहरे खोलाको छेउँमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले भने, ‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्को पटक तपाईंहरुको बीचमा मत माग्न आउँदैनौं ।’

उनले खहरेको छेउँमा रहेका घर अगाडिको फोहोरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन आग्रह गरे । 

“मैले तपाईहरुको घर अगाडिको फोहोर मात्रै हैन, देशकै फोहोर सफा गर्ने अठोट गरेको छु, त्यसका लागि तपाईहरुको साथ अनिवार्य हुन्छ, मलाई रुख चिन्हमा मतदान गरेर त्यो अठोट पूरा गर्ने अवसर प्रदान गरिदिनुहुन अनुरोध छ,” उनले भने । 

बुढानीलकण्ठ वडा नम्बर ११ र १२ हुँदै वडा नम्बर १० तिर बग्ने खहरे खोलाको छेउँमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गरेको छ ।  

बाढीको समस्या समाधानका लागि आनी गुम्बामा १६ फिटको ‘बक्स कल्भर्ट’ बनाउन लागिएकाले त्यो निर्माण सम्पन्न भएपछि समस्या नहुने नेता थापाले जानकारी दिए । 


बाढीको समस्या समाधान गर्न आफ्नो भरमग्दूर प्रयासबाट काम अगाडि बढे पनि कतिपय व्यक्तिले भ्रमण फैलाउने प्रयास गरेकाले भ्रममा नपर्न पनि उनले स्थानीयबासीलाई आग्रह गरे ।  

उनका अनुसार बाढी नियन्त्रणका लागि पटक पटक गरी सवा अर्बभन्दा बढी रुपैयाँ बजेट पारेको छ र काम अगाडि बढीरहेको छ । 

विक्रम संम्वत २०५४ सालदेखि शुरु भएको खहरेको बाढीको समस्या समाधान गर्न कांग्रेस महामन्त्री थापाले ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाएका छन् । 

उपत्यका विकास प्राधिकरणमार्फत अगाडि बढाइएको सो प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेर गत महिना बोलपत्र पनि प्रकाशित गरेको छ ।

दैनिक घरदैलोका क्रममा नेता थापालाई अधिकांश मतदाताले पुरानो पुस्तालाई विस्थापित गर्न र राजनीतिमा पुस्तान्तरण गर्न सक्ने नेताका रुपमा लिएको बताउने गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ