arrow

शेरबहादुर दाइ अग्रगमनतिर जाने कि यथास्थितिमै रमाउने ?

logo
डा. राजेन्द्रकुमार श्रेष्ठ,
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
article-rajendra-kumar-shrestha.jpg

नेपाली कांग्रेस अग्रगमनतिर जान्छ या यथास्थितिमै रहन्छ भन्ने कुराको निर्क्यौल अबको संसदीय दलको नेताको चयनले हुनेछ । कांग्रेसको मात्र होइन विपक्षमा भोट हाल्ने खासगरी युवा वर्ग गगनकुमार थापा प्रधानमन्त्री भएको हेर्न चाहन्छन् ।  उनको कार्यकौशल हेर्न चाहन्छन् । 

गगन तथा उनको टिमले गत दुई वर्षदेखि सरकार कसरी संचालन गर्न सकिन्छ भनी गृहकार्य गरेको कुरा मिडियामा भन्दै गरेको आम नेपालीले सुन्दै गरेको विषयलाई हेर्न चाहेका छन् । देशमा चरम भ्रष्टाचार छ, गरिबी छ, पछौटेपन छ । लाखौँ युवा बेरोजगार छन् । 

बैंकहरु नाफाखोर, सुदखोर भैरहेको अवस्था छ । सु–शासन छैन । कर्मचारीतन्त्र भ्रष्ट छ । देशको व्यवस्था परिवर्तन भयो तर अवस्था जर्जर छ । भनौं यो देशमा बेथितिको चाङ नै छ । यी सब हुनुमा आजसम्म देश चलाउन अवसर पाएका विभिन्न पार्टीको अकर्मण्य नेतृत्वहरु जिम्मेवार छन् ।  

२०४६ र ०६२–६३ को आन्दोलनको मर्म यिनीहरुलाई छोटे राजा, बडे राजा बनाउन जनताले दिएको म्यान्डेट हो जस्तो गरी देशको ढुकुटी दोहन गरिरहे । पार्टी, देश होइन एउट गुटमा रमाइरहे । 

देशमा समानुपातिक निर्वाचनको मर्म के हो ? सीमान्तकृत वर्ग जो निर्वाचन लड्न सक्दैन जुन राज्यको पहुँच भन्दा टाढा छ त्यो वर्गलाई समेट्न, विभिन्न क्षेत्रमा योगदान गरेका विज्ञलाई यो प्रणालीबाट प्रतिनिधित्व गराउन बनाइएको प्रणाली होइन र ? कि सभापति शेरबहादुर देउवाकी पत्नी या देउवासँग नजिकै भएकै नाताले बालकृष्ण खाँड पत्नीलाई सांसद बनाउन ? 

संसदीय दलको नेताका लागि दलभित्र खेल शुरु भैसक्यो । गगनलाई दलभित्र, तथा गठबन्धनबाट रोक्न विभिन्न आरोप लगाउने भित्री खेल शुरु भैसक्यो । गगनलाई कुनै पनि हालतमा संसदीय दलको नेतामा रोक्ने कोसिस पार्टी भित्रकै यथास्थितिवादीहरुले गर्ने तयारी शुरु भइसक्यो । 

तिनीहरु देउवा या देउवाका आसेपासेको निगाहमा राजदूत, उपकुलपति, संवैधानिक अंगको नियुक्ति या अन्य कुनै सानोतिनो पदमा राजनीतिक नियुक्ति पाउने आशामा गुटको पछि लागेका हुन्छन् । या अर्को महाधिवेशनमा पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति या अर्को स्थानीय, प्रदेश तथा संघीय चुनावमा टिकट पाउने आशामा बाँचेका हुन्छन् ।  

निर्वाचित सांसद पनि मन्त्री हुन पाउने या प्रभावशाली मन्त्रालयको विश्वासपात्र भएर बिचौलिया बनेर पैसा कमाउने आशामा या आफूले चाहेको नातेदार या परिवारको सदस्य कमाइ हुने ठाउँमा सरुवा, बढुवाको आशमा यथास्थितिको गुटमा लागेका हुन्छन् । 

यस्ता तमाम व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेतृत्व परिवर्तन गर्न नसकिए अर्को चुनावमा कांग्रेसको पत्तासाफ हुने पक्का छ । त्यतिमात्र हैन देशको विकास कछुवा गतिमै हुनेछ । पहिले स्नातक या स्नातकोत्तर पछि युवाहरु विदेसिन्थे । तर अहिले १२ कक्षा सकिने बित्तिकै विदेश लैजाने कन्सल्ट्यान्सीमा लाइन लाग्छन् ।  देशको यो भयानक ‘ब्रेन ड्रेन’ रोक्न नसकिए भविश्यमा योग्य व्यक्ति नै यो मुलुकमा नभेटिने खतरा पनि उत्तिकै छ ।  

गगनले संसदीय दलको चुनाव हारेमा देशले पनि हार्नेछ । त्यसैले कांग्रेसबाट निर्वाचित सांसदहरु एकपटक गम्भीर भएर देश र जनताले दिएको जिम्मेवारी, जनताले दिएको म्यान्डेट अनि आफ्ना सन्ततिले नेपालमै बस्ने वातावरण बनाउन, यो देशको विकासलाई कछुवा गतिबाट जोगाउन पनि गगन थापालाई संसदीय दलको नेतामा जिताउनु नै पर्छ ।  

शेरबहादुर दाइहरुले गरेको त्यागको सम्मान गर्दै, तपाईबाट जे जति हुनसक्ने थियो त्यो दुई पटकको सभापति र पाँच पटकको प्रधानमन्त्री हुँदा गरिहाल्नु भयो होला । अब त्यसमा थप प्रगति गर्न उर्जावान र योग्य नेता चाहिएको छ । यसका लागि राज्य संचालनको लागि दुई वर्षदेखि पूर्ण तयारी गरिरहेका, विज्ञसँग बसेर शिक्षा, स्वास्थ्य, भौतिक निर्माण, सुशासन, आर्थिक प्रशासन इत्यादिमा प्रशस्त गृहकार्य गरिरहेका गगन थापालाई जिम्मेवारी हस्तान्तरण गर्न आवश्यक छ । 

उनलाई संसदीय दलको नेता बनाइ प्रधानमन्त्री बन्न दिएमा जनताको इच्छा पूरा गर्देै पार्टीको अस्तित्व जोगाउन महत्वपूर्ण प्रस्थान बिन्दु हुन सक्छ । देशलाई विकासको युगमा पुर्याउन शेरबहादुर दाइ तपाईले पनि सहयोग गर्नुहोस् । 

दाइ तपाईको पहल पार्टी, देश र हाम्रा सन्तानको भविष्यका लागि चीरकालसम्म स्मरणीय हुनेछ । तपाईलाई यस्तो निर्णय गर्न रोक्न खोज्ने स्वार्थी समूहबाट आफूलाई माथि राखी विवेकको प्रयोग गर्नुहोला । हामी तपाईको निर्णयको प्रतिक्षामा छौं । (लेखक मेडिकल डा. हुन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ