arrow

बागमती प्रदेशमा सभामुखका लागि तीन जनाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
Bagmati-speaker-nomination.jpg

हेटौंडा। बागमती प्रदेशको सभामुख पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ  । सत्ता गठबन्धनको तर्फबाट राप्रपा, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले सभामुखका लागि उम्मेदवारी दिएका हुन् । 

तिनैजनाले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम (२) बमोजिम मनोनयन दर्ता गरेका हुन् । राप्रपाको तर्फबाट भुवन कुमार पाठकले मनोनयन दर्ता गरेका छन् । उनले एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलालको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।  उनी राप्रपाको काठमाडौंबाट समानुपातिकतर्फका सांसद हुन् ।  

प्रदेशसभामा राप्रपाको १३ जना सांसद रहेका छन् भने उनलाई सत्ता  गठबन्धनका ५ दलको समर्थन छ । पाठकलाई एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन रहेको छ । 

त्यस्तै  नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले पनि  उम्मेदवारी दर्ता गरेका छन् । अधिकारीलाई प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थनमा रामकृष्ण चित्रकार रहेका छन् । धादिङबाट समानुपातिक सांसद रहेका अधिकारीलाई नेपाली कांग्रेसको ३७ सांसदको साथ रहेको छ । 

त्यस्तै नेमकिपाकी सृजना सायजुले पनि सभामुखका लागि मनोनयन दर्ता गरेकी छन् । उनले सुरेन्द्रराज गोर्साइको प्रस्तावमा र गीता काफ्लेको समर्थनमा मनोनयन दर्ता गरेकी हुन् । उनी भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी हुन् । प्रदेशसभामा नेमकिपाका ३ जना सांसद रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ