arrow

हिउँदे बाली लगाएका किसानलाई थप रासायनिक मल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
fertilizer-urea.jpg

धनुषा । सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश-प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा धनुषालाई थप एक हजार ७९ मेट्रिक टन युरिया मल उपलब्ध गराउने भएपछि हिउँदे बाली लगाएका किसानलाई राहत हुने भएको हो । 

कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त प्रमुख रविकुमार केसरीले थप युरिया मल प्राप्त हुने र मल ल्याउन यसै महिनामै बोलपत्र आह्वानको तयारी भइरहेको जानकारी दिए ।

सम्भवतः यही माघ १८ मा बोलपत्र आह्वान हुने र हिउँदे बाली उत्पादक किसान लाभान्वित हुने गरी चाँडै मल ल्याउन पहल भइरहेको उनको भनाइ छ । “किसानले मलको माग गरिरहेकाले हामी दबाबमा थियाैँ” केशरीले भन्नुभयो, “अब बाँकी प्रक्रिया पूरा गरेर छिट्टै मल उपलब्ध गराउँछौँ ।”

कृषि सामग्री कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा धनुषाको दक्षिणी क्षेत्रका लागि जनकपुरधाम शाखामा नौ हजार मेट्रिकटन युरिया र छ हजार मेट्रिकटन डिएपी मलको लक्ष्य तोकेको छ । 

हिउँदे सिजनका लागि हालसम्म एक हजार चार सय ४ मेट्रिक टन युरिया र एक हजार आठ सय ७२ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा एक हजार दुई सय ५३ मेट्रिक टन युरिया र एक हजार आठ सय मेट्रिक टन डिएपी वितरण गरिसकिएको केसरीले जानकारी दिए । 



नयाँ