arrow

निजी क्षेत्रका हरेक एजेण्डामा महासङ्घको सदैव साथ : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
chandra-dhakal-fncci-itahari.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताएका छन्।

इटहरी उद्योग वाणिज्य सङ्घको २३औँ र २४औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासङ्घले निजी क्षेत्रको एजेन्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेण्डामा जिल्ला-नगर उद्योग व्यवसायी सङ्घहरूसँग महासङ्घ साथसाथै रहने प्रतिबद्धता समेत व्यक्त गरे।

“म केही समयपछि नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष हुँदै छु। म यहाँहरूसँग के प्रतिबद्धता व्यक्त गर्न चाहन्छु भने तपाईँहरूले उठाउने हरेक एजेण्डामा महासङ्घको साथ र समर्थन रहने छ। म व्यक्तिगत रूपमा पनि तपाईँहरूसँगै हुनेछु।

जिल्ला-नगरका व्यवसायी साथीहरूले कुनै पनि सम्भावित योजना ल्याउनुभयो भने त्यसलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा अगाडि बढाउने जिम्मा हाम्रो हुनेछ,” उनले भने।

ग्लोबल आइएमई बैङ्कका अध्यक्ष समेत रहेका ढकालले कर्जाको ब्याजदर कुनै एउटा बैङ्क तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रण नहुने बताए।

“कर्जाको ब्याजदर कुनै बैङ्क, वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन। यसमा विभिन्न आन्तरिक तथा बाह्य विषय वस्तुहरूको प्रभाव रहन्छ। केही समय पहिलेको दुई-तीन प्रतिशतको निक्षेपको ब्याजदर अहिले १०-११ प्रतिशत पुगेको छ। त्यसैले कर्जाको ब्याजदर स्वतः बढेको हो,” उनले बताए।

उनले आफूलाई बैङ्कले दिने प्रतिफलभन्दा अन्य व्यवसायमार्फत आउने प्रतिफल बढी भएको हुँदा बैङ्क ब्याजदर घट्दा आफूलाई पनि राहत पुग्ने बताए।

“म कुनै एउटा बैङ्कको सञ्चालक समितिको अध्यक्ष हो। तर बैङ्कको शेयरको तुलनामा अन्य व्यवसायमा मेरो लगानी बढी छ। त्यसैले बैङ्कले दिने प्रतिफल भन्दा अन्य व्यवसायबाट आउने प्रतिफल धेरै बढी हुन्छ। ब्याजदर घट्दा मलाई पनि राहत हुन्छ,” उनले भने।

उनले केही व्यवसायीहरूले चुनावी एजेण्डा बनाउन खोज्दा बैङ्क र व्यवसायीबीचको दुरी बढेको समेत उल्लेख गरे।

उनले राज्यको प्राथमिकता र आम जनतालाई सेवा पुग्ने व्यवसाय जसले नाफा सृजना गर्न सक्छ त्यस्तो व्यवसाय सधैँ सफल हुने बताए।

“मैले व्यवसाय गर्दा तीन वटा कुराहरूमा विशेष ध्यान दिने गरेको छु। पहिलो राज्यको प्राथमिकताको क्षेत्र, दोस्रो आम जनतालाई सेवा प्रदान गर्ने व्यवसाय र तेस्रो आर्थिक रूपमा सम्भावना रहेको क्षेत्र,” उनले भने।

उनले आफूहरूले सात वटा प्रदेशमा सात वटा देखिने काम गर्ने उद्देश्यले काम गर्न खोजेको समेत स्पष्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ