arrow

समितिको किचलोले बागमती प्रदेश सभा स्थगित

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ माघ २३ सोमबार
parliament-bagmati-province.jpg
तस्बिर – फाइल ।

हेटौंडा । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । आज मध्यान्ह १२ बजे बस्ने गरी बोलाइएको प्रदेश सभाको बैठक माघ २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

 आज बस्ने भनिएको प्रदेशसभा बैठकमा विभिन्न पाँच वटा समिति गठनको कार्यसूची थियो । सत्तापक्ष र प्रतिपक्ष दुवैले संसदीय समितिमा दाबी नछोडेपछि सोमबार २ पटक बसेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको हो ।  बागमतीमा प्रमुख प्रतिपक्षको रुपमा रहेको कांग्रेसले पाँचवटै संसदीय समितिको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको छ । 

तर सत्तापक्ष सवै समितिको नेतृत्व कांग्रेसलाई छाड्न तयार नभएपछि सहमति हुन सकेको छैन । ५ वटा संसदीय समितिमध्ये एमालेले २, माओवादी केन्द्र २ र राप्रपाले दुई समितिको नेतृत्वमा दाबी गर्दै आएका छन् । 

उता कांग्रेसले ५ वटै सभापति आफूले पाउनुपर्ने दाबी गर्दा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भने कांग्रेसको माग नाजायज भएकाले उसले भने अनुसार दिन नसकिने प्रतिक्रिया दिएका छन्  । 

समितिमा सहमति जुटाउन आज साँझ नै फेरि दोस्रो सर्वदलीय बैठक बस्दैछ । आज स्थगित बैठक माघ २६ गतेका लागि बोलाइएको छ । उक्त  बैठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सचिवालयले जनाएको छ  । 

बागमती  प्रदेशसभामा हाल नेपाली कांग्रेसका ३७, नेकपा एमाले २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना सांसद रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ