arrow

धौवादी फलाम कारखाना सञ्चालन गर्न निजी क्षेत्र सक्षम : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
chandra-dhakal-nawalpur-fncci.jpg

नवलपुर। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धौवादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादनको सम्भावना भए पनि लामो समयदेखि काम अघि बढ्न नसकेको बताउँदै यसको जिम्मा निजी क्षेत्रलाई दिन आग्रह गरेका छन्।

बुधवारदेखि नवलपुरमा सुरु भएको सातौँ नवलपुर महोत्सव २०७९ मा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासङ्घका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले भने, "लामो समयसम्म यस फलाम खानीबाट व्यावसायिक रूपमा उत्पादन हुन सकेन। अब विलम्ब नगरी यसको सञ्चालनको जिम्मा लिई क्षेत्रलाई दिइयोस्। यसलाई सञ्चालन गर्न हामी तयार छौ। हामीले स्थानीय व्यवसायीसँग सहकार्य गरेर वा वैदेशिक लगानी भित्र्याएर यसलाई सञ्चालनमा ल्याउँछौँ।"

उनले सरकारले हरेक बजेट तथा कार्यक्रममा यो कारखाना सञ्चालनका कार्यक्रमहरू राख्ने गरेको तर कार्यान्वयन हुन नसकेको कुरालाई औँल्याउँदै निजी क्षेत्रलाई जिम्मा दिन सकेमा तत्काल सञ्चालनमा लैजान सकिने विश्वास समेत व्यक्त गरे। वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका केही सूचकहरू सकारात्मक हुँदै गएको बताउँदै छिट्टै अर्थतन्त्रमा सुधार आउने समेत विश्वास व्यक्त गरे।

“कोभिडको कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै अर्थतन्त्रमा समस्या देखिएको थियो। धेरै उद्योग व्यवसाय बन्द भएका थिए। हामी कहाँ विदेशबाट रेमिट्यान्स भित्रिने क्रम पनि कम भयो। आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैङ्कमा लगानी योग्य पुँजीको अभाव भयो। तर, अहिले बिस्तारै सबै कुरा सकारात्मक हुँदै छन्। यसले के भन्न सकिन्छ भने अबको केही समयभित्र अर्थतन्त्रमा सुधार आउँछ। अर्थतन्त्र सहज बाटोबाट अगाडि बढ्छ” उनले भने।

नवलपुर जिल्ला कृषि, पर्यटन र औद्योगिक गतिविधिका लागि महत्त्वपूर्ण रहेको बताउँदै आफू यस क्षेत्रको विकास र समुन्नतिका लागि यहाँका स्थानीय व्यवसायीहरूसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

“यो जिल्ला भारतसँग सिमाना जोडिएको र धेरै क्षेत्रमा सम्भावना भएको क्षेत्र हो। आउनुस्, तपाई हामी व्यावसायिक गतिविधिमा सहकार्य गरेर अगाडि बढौँ। यहाँका व्यवसायी साथीहरूले कुनै प्रस्ताव ल्याउनुभयो भने त्यसमा म व्यक्तिगत रूपमा सहकार्य गर्न तयार छु,” उनले भने।

आफू एउटा बैङ्कर भएको नाताले हरेक ठाउँमा जाँदा व्यवसायीहरूले बैङ्कसँग सम्बन्धित प्रश्नहरू उठाउने गरेको बताउँदै उनले निक्षेपको ब्याजदर बढ्दा कर्जाको ब्याजदर पनि स्वतः बढेको बताए।

“कोभिड महामारीका कारण विश्व अर्थतन्त्र मै समस्या देखिएको छ। बैङ्किङ क्षेत्रमा लामो समयदेखि लगानी योग्य पुँजीको अभाव रह्यो। दुई तीन प्रतिशतको हाराहारीमा रहेको निक्षेपको ब्याजदर ८/१० प्रतिशतमा पुगेको छ। यसले नै बैङ्कको लागत बढाई कर्जाको व्याज बढाएको हो। तर यसमा पनि क्रमशः सुधार हुँदै छ। महासङ्घको तर्फबाट हामीले गरेको निरन्तर पैरवीका कारण नियामक निकायबाट केही विषयहरू सम्बोधन भएका छन्,” उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ