arrow

नियम बनाउँदा सरोकारवालासँग छलफल गरिए, खोजेको नतिजा प्राप्त : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
chandra-dhakal-dulikhel-fncci.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यका सबै निकायले नीति, नियम तथा कानुनहरू बनाउँदा सम्बन्धित सरोकारवाला पक्षहरूसँग छलफल गरेर बनाएमा मात्र खोजेको उद्देश्य र नतिजा प्राप्त हुने बताएका छन्।

शुक्रवार धुलिखेल उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको पद स्थापना तथा शपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासङ्घका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले नीति नियम बनाउँदा सम्बन्धित पक्ष वा सरोकारवालासँग छलफल नगरी बनाउने गरेकोले त्यस्ता नीति नियम कार्यान्वयनमा कठिनाइ हुने र खोजेको उद्देश्य पनि प्राप्त हुन नसकेको बताएका छन्।

“सरोकारवाला निकायसँग छलफल नै नगरी नीति नियम बनाउने चलन छ। अधिकांश नीति नियम बनाउँदा निजी क्षेत्रलाई साक्षी मात्र राख्ने गरिन्छ। यसले गर्दा उक्त नीति नियम कार्यान्वयन पनि हुन सक्दैन र त्यसले चाहेको नतिजा पनि दिन सक्दैन। 

त्यसैले सरोकारवाला निकायसँग आवश्यक छलफल गरेर, उनीहरूलाई सहभागी गराएर नीति नियम बनाउने गरौँ,” उनले भने। उनले राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्दा मुलुकले चाहेको आर्थिक विकास पनि हासिल गर्न सहज हुने बताए।

उनले कोभिडका कारण वैदेशिक रोजगारीमा गएका श्रमिकहरू घर फर्किने तर जाने क्रम रोकिएको, पर्यटकहरू आउने बन्द भएको तथा मूल्य वृद्धि भई आयातमा धेरै पैसा बाहिरिएको कारण अर्थतन्त्रमा समस्या आएको बताए।

तर कोभिड महामारीको समयदेखि सुरु भएको तरलताको समस्या बिस्तारै सहज हुँदै गएको छ, उनले भने।

“कोभिडको समयमा उद्योग व्यवसाय बन्द भए। विदेशबाट रेमिट्यान्स भित्रिने क्रम पनि कम भयो। आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैङ्कमा लगानी योग्य पुँजीको अभाव भयो। तर अहिले बिस्तारै सबै कुरा सकारात्मक हुँदै छन्। यसले के भन्न सकिन्छ भने अबको केही समयभित्र अर्थतन्त्र सहज बाटोबाट अगाडि बढ्छ,” उनले भने।

उनले महासङ्घको तर्फबाट आफूहरूले गरेको निरन्तर पहल स्वरूप नियामक निकाय र अन्य सरोकारवालसम्म कुरा पुगेको र केही कुराहरू सम्बोधन गरेको बताए।

“हामीले प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा अर्थ मन्त्री र नेपाल राष्ट्र बैङ्कको गभर्नरज्यू लगायतलाई बारम्बार हाम्रा समस्याहरू राखेर यसमा सम्बोधन गर्न भनेका छौँ। केही कुराहरू सम्बोधन पनि भएका छन्। अझै धेरै बाँकी छन्। यसमा हामी निरन्तर पैरवी गर्ने नै छौँ,” उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ