arrow

सस्तो लोकप्रियताको लागि व्यवसायीले जथाभाबी बोल्नु हुँदैन : वरिष्ठ उपाध्यक्ष ढकाल

'भिडलाई खुसी पार्नका लागि अव्यवहारिक कुरा गर्न सकिन्न'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
chandra-dhakal-parbat-fncci.jpg

पर्वत। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताको लागि व्यवसायीले जथाभाबी बोल्न नहुने बताएका छन्।

शुक्रवार पर्वत उद्योग वाणिज्य सङ्घको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीहरूले भोटका लागि गैर जिम्मेवार रूपमा चर्को र जथाभाबी बोल्न नहुने कुरा बताएका हुन्। “हामीले हुललाई खुसी पार्नको लागि व्यवहारिक रूपमा सम्भव नहुने त्यस्ता केही लोकप्रिय कुरा गर्न सकिन्छ,"  उनले भने।

उनले व्यवसायी साथीहरूले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे। "तपाई हामीले चुनावमा भोटका लागि यस्ता मिठा मिठा कुरा त गरौँला। तर भोलि यसलाई कसरी निष्कर्षमा पुर्‍याउने भन्ने बारेमा पनि हामीले सोच्नुपर्ने हुन्छ,” उनले भने।

कोभिड र रसिया–युक्रेन युद्धलगायत समस्याहरूले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उनले अब बिस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे।

“अर्थतन्त्र अप्ठ्यारोमा थियो तर अहिले सुधारोन्मुख छ,” उनले भने, “बिस्तारै धेरै कुरामा सुधार देखिन सुरु भएको छ। हामी व्यवसायीको जस्तो सुकै अप्ठ्यारो परिस्थितिमा पनि किञ्चित नहडबडाई निरन्तर सेवा प्रदान गर्ने गरेको इतिहास छ। हामी धेरै निराश हुनुहुँदैन। नैराश्यले हामी आफैलाई नै समस्यामा पार्छ।”

आफू एउटा बैङ्कको सञ्चालक भएको नाताले धेरै ठाउँमा पटक पटक बैङ्कको व्याजदारको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायी साथीहरूलाई कुनै एउटा बैङ्कको सञ्चालकको चाहनाले मात्र बैङ्कको ब्याजदर परिवर्तन हुने भ्रम रहेको बताए। 

“धेरै व्यवसायी साथीहरूलाई के भ्रम रहेको छ भने म वा कुनै एउटा बैङ्कको सञ्चालकले घटाइदिने हो भने ब्याजदर घट्न सक्छ। 

यसले त्यसो नगरेर यसले बैङ्कको मात्र पक्षपोषण गरेको छ। तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैङ्क वा बैङ्कको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन। म आफैलाई पनि बैङ्कको ब्याजदर घट्दा हुने फाइदा मैले बैङ्कबाट पाउने लाभांश भन्दा धेरै गुणा बढी हुन्छ,” उनले भने।

वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगरका व्यवसायीहरूको हक, हित र संरक्षणकलालागि आफूहरू लागिरहेको र निरन्तर लागि रहने प्रतिबद्धता समेत व्यक्त गरे।

“हामीले हाम्रो निरन्तर प्रयासका बाबजुद धेरै नीतिगत कुराहरूमा सुधार ल्याएका छौ। प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा अर्थमन्त्री र गभर्नरज्यूहरूसँगको निरन्तर पैरवी पछि हाम्रा केही मागहरू सम्बोधन भएका छन्। यसकालागि हामी फेरि पनि निरन्तर लाग्ने नै छौँ,” उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ