- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरूलाई धेरै निराश नहुन आग्रह गरेका छन्। नेपालगन्ज उद्योग वाणिज्य सङ्घको २१औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका धेरै सूचकहरू सुधारोन्मुख रहेको र अहिलेको भन्दा परिस्थिति नबिग्रने बताउँदै व्यवसायीहरूलाई निराश नहुन आग्रह गरेका छन्।
"अर्थतन्त्रका धेरै सूचकहरू बिस्तारै बिस्तारै सकारात्मक हुँदै आएका छन्। हामी व्यवसायीहरू जस्तोसुकै असजिलो आउँदा पनि हडबडाउनु हुँदैन । नैराश्यताले हामी आफैलाई हानी गर्छ," उनले भने।
छिमेकी राष्ट्र श्रीलङ्काको अर्थतन्त्रमा समस्या देखिएको हुनाले नेपालको नियामक निकाय तथा सरकारको तर्फबाट केही कसिलो नीतिहरू अपनाउँदा नेपालको अर्थतन्त्रमा समस्या देखिएको र व्यवसायीहरू मर्कामा परेको बताउँदै त्यो कुरालाई मध्यनजर गर्दै सरकार तथा नियामक निकायले तुरुन्तै कोर्स करेक्सन गरेकोले अर्थतन्त्रमा बिस्तारै सहज स्थिति आउने बताए।
आफू उपस्थित हुने हरेक कार्यक्रममा बैङ्कको ब्याजसम्बन्धी कुराहरू उठ्ने गरेको बताउँदै उनले कुनै एक बैङ्क वा वित्तीय संस्थाको सञ्चालकले मात्र ब्याजदर परिवर्तन गर्न असम्भव रहेको बताए।
"म जुन कार्यक्रमहरूमा सहभागी हुन्छु त्यहाँ बैङ्कको ब्याजदर सम्बन्धी विषयहरू उठ्ने गरेको छ। धेरै साथीहरूले बैङ्कको सञ्चालक भएकै कारण मैले चाहेको खण्डमा ब्याजदर घटाउन सक्ने र बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभाव समाधान हुने खालको अभिव्यक्तिहरू दिने गरेका छन्। म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैङ्कको सञ्चालक वा लगानीकर्ताले निर्धारण गर्ने वा चाहनाले परिवर्तन गर्ने कुरा होइन," उनले भने।
जिल्ला नगरका साथीहरूले ब्याजदर बारे आन्दोलनका कार्यक्रमहरू गरिरहेको र महासङ्घको केन्द्रीय नेतृत्वले कुनै प्रयास नगरेको भन्ने प्रश्नमा आफ्नो धारणा राख्दै ढकालले महासङ्घको नेतृत्वले गरेको निरन्तर पहलकै कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कले व्यवसायीहरूका धेरै गुनासाहरू सम्बोधन गरेको स्पष्ट पारे।
"हामीले हाम्रो तर्फबाट गरेको निरन्तर पैरवी र पहलले नेपाल राष्ट्र बैङ्क र नेपाल सरकारले केही कुराहरूमा लचिलो नीति अवलम्बन गरेको छ। जसले गर्दा अहिले हामीलाई हाम्रो व्यवसाय गर्न केही सहज भएको छ। हामी केन्द्रीय नेतृत्व निदाएर बसेका छैनौ। तपाई हामी व्यवसायीहरूको समस्या केन्द्रसम्म पुर्याउने काम नै गरेका छौँ," उनले स्पष्ट पारे।
अबको केही समयपछि महासङ्घको नेतृत्व सम्हाल्न गइरहेका ढकालले महासङ्घले निजी क्षेत्रको शिर उच्चो बनाउने गरी काम गर्ने बताए।