arrow

पपुलर हुनकै लागि बैङ्कको ऋण र व्याज तिर्दिन भन्न मिल्दैन : वरिष्ठ उपाध्यक्ष ढकाल

'लोकप्रिय बन्न सस्ता कुरा नगर्न व्यवसायीलाई आग्रह'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
chandra-dhakal-siddhartha-rupandehi-fncci.jpg

रुपन्देही। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरू माझ लोकप्रिय बन्नका लागि सस्ता र मिठा कुरा नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। शुक्रवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीहरू माझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता कुरा नगरी जिम्मेवार भएर कुरा उठाउन पनि आग्रह गरेका छन्।

“हामी निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरूले सस्तो लोकप्रियताका लागि व्यवसायीहरू माझ गैर जिम्मेवार भई जथाभाबी बोल्नु हुँदैन। पपुलर हुनकै लागि बैङ्कको ऋण र व्याज तिर्दिन भन्ने कुरा गर्नुहुँदैन। बैङ्कमा भएको निक्षेप पनि जनताको हो। हामी व्यवसायीहरूले यस्तो गैर जिम्मेवार कुरा बोल्नु हुँदैन,” उनले भने।

उनले केही व्यवसायी साथीहरूले महासङ्घको निर्वाचनलाई लक्षित गरी पपुलर कुराहरू गर्ने गरेको बताउँदै नेतृत्वमा पुग्ने व्यक्ति जबाफदेही र जिम्मेवार पनि हुनुपर्ने बताए।

कोभिड महामारीका कारण मुलुकको मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले यसमा बिस्तारै सुधार देखिन थालेको जानकारी गराए।

“कोभिड महामारी र त्यसपछिको समयमा नेपालमा मात्र होइन विश्व अर्थतन्त्रमा नै समस्या देखिएको थियो । त्यसैको प्रभाव स्वरूप नेपालको बैङ्किङ क्षेत्रमा तरलता अभाव सुरु भयो र बैङ्कको कर्जाको व्याज दर बढ्न गयो। तर, अहिले हाम्रो अर्थतन्त्रका केही इन्डिकेटर हरु सकारात्मक हुन थालेको सङ्केत देखिएका छन्। त्यसैले म व्यवसायी साथीहरूलाई आत्तिने र हडबडाउने नगर्न पनि आग्रह गर्न चाहन्छु,” उनले भने।

आर्थिक सङ्कटको कारण देखाउँदै केही व्यवसायीहरूले आत्महत्या गरेको तर्फ इङ्गित गर्दै ढकालले व्यावसायिक यात्राका क्रममा धेरै सहज र असहज परिस्थितिहरू आउने हुँदा त्यस्तो चुनौतीहरू सामना गर्दै अगाडि बढ्न व्यवसायीहरूलाई सुझाव समेत दिए।

उनले बैङ्कको ब्याजदरको विषयमा महासङ्घको तर्फबाट आफूहरूले राज्यका विभिन्न निकायमा पटक पटक कुरा उठाएको बताउँदै पछिल्लो समय राज्यले पनि केही विषयहरू सम्बोधन गरेको र वातावरण सहज बन्दै गएको बताए।

एउटा बैङ्कको सञ्चालक भएको नाताले आफू उपस्थित हुने धेरै कार्यक्रमहरूमा पटक पटक बैङ्कको ब्याजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायी साथीहरूलाई कुनै एउटा बैङ्कको सञ्चालकको चाहनाले मात्र बैङ्कको ब्याजदर परिवर्तन हुने भ्रम रहेको बताए। 

“धेरै व्यवसायी साथीहरूलाई कुनै एउटा बैङ्कको सञ्चालकले घटाइदिने हो भने ब्याजदर घट्न सक्छ भन्ने लागेको देखिन्छ। तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैङ्क वा बैङ्कको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन। व्याज दर निर्धारणमा आन्तरिक तथा बाह्य धेरै कुराहरूको प्रभाव रहन्छ। त्यसै पनि निक्षेपको व्याज बढ्दा अहिले बैङ्क तथा वित्तीय संस्थाको लागत पनि बढेको छ," उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ