सर्लाही । बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागार्इंले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका उनी तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौँ ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित भएका हुन् ।
काठमाडौँ उपत्यकामा च्याउ र गोलभेँडाको राम्रो मागदेखि पनि तत्कालीन समयमा रू एक लाख लगानीमा उनले ध्रुव कृषि फर्म प्रालि दर्ता गरी च्याउखेती सुरु गरेका हुन् ।
“जब मैले तराईका जिल्लाबाट ठूलो मात्रामा गोलभेँडा र च्याउ काठमाडौँ लैजाँदै गरेको देखेँ तब यो सोच पलाएको थियो”, उनले भने, “त्यसपछि यो खेतीमा राम्रो सम्भावना छ देखेरै विदेशको जागिर छाडेर यसैमा सक्रिय भएको हुँ ।”
रू एक लाख लगानीमा एक सय ५० पोका च्याउबाट सुरु भएको व्यवसायमा हालसम्म रू ११ करोड भइसकेको छ भने १७ जनाले रोजगारी पनि पाएका छन् । उनले हाल अहिले एक बिघा जमिनमा ठूला आठ वटा अत्याधुनिक टनेलका बनाएका छन् । फर्ममा उत्पादित च्याउको थोक बिक्रीबाट वार्षिक रू १० करोडसम्म कारोबार गरेको उनको भनाइ छ ।
व्यवसायमा आमा, बुबा, श्रीमति र छोराको राम्रो साथ पाउनु भएका उनले कोरोना महामारीको समयमा विद्युत् सर्ट भएर फर्ममा आगलागी भइ क्षति हुँदा करिब रू नौ करोड ऋण लागेको बताए ।
कक्षा १२ सम्मको अध्यायन गरेका चौलागाईं बिहानदेखि रातिसम्म फर्ममा कर्माचारीसँगै खटिन्छन् । “च्याउबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पुर्याउनुपर्छ”, उनले भने, “फर्ममा कन्या र गोब्रे च्याउ उत्पादन भइरहेको छ ।”
हाल फर्ममा कन्या, गोब्रे, सिताके, ज्ञानडोर्न र पत्याको लगायतका च्याउका जातको बिउ उत्पादन गर्नुका साथै कम्पोष्ट बनाउने पनि काम भइरहेको जानकारी दिए ।
यहाँ उत्पादन हुने च्याउ स्थानीय बजारका साथै मकवानपुर, चितवन र काठमाडौँलगायतका बजारमा पुग्ने गरेको चौलागाईंको भनाइ छ । उनले च्याउ हाल प्रतिकिलो रू तीन सय ५० का दरले बिक्री गर्दै आएका छन् ।