arrow

अर्थतन्त्रमा सकारात्मक सङ्केतहरू देखिएका छन्, अव नीतिगत व्यवस्था गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
chandra-dhakal-gandaki-province-fncci.jpg

पोखरा। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थामा तत्अनुरूप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्र्याकमा लैजान सकिने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश छैटौँ प्रदेश सभाको उद्घाटन समारोहलाई सोमबार पोखरामा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “अहिले अर्थतन्त्रका केही सूचकाङ्कहरू सकारात्मक देखिएका छन्। रेमिट्यान्स बढेको छ। विदेशी पर्यटकको सङ्ख्या बढेको छ। बैङ्कमा तरलता पनि बढेको छ। त्यसैले, यसलाई आधार बनाएर नयाँ नीतिगत व्यवस्था गरेर अगाडि बढ्न सकियो भने हामीले अहिलेको अर्थतन्त्रको समस्याबाट पार पाउन सकिन्छ।”

उनले छिमेकी मुलुकको आर्थिक अवस्थासँग तुलना गरी नेपालमा पनि कठोर नीति लिँदा अर्थतन्त्रमा समस्या आएको स्मरण गर्दै अहिलेको अवस्था व्यवसायी हरूको लागि चुनौतीपूर्ण रहेको बताए।

“कोरोना भाइरसपछि हाम्रो आफ्नो आन्तरिक नीतिहरूका कारणहरूले वा रसिया युक्रेन युद्धको कारणले होस्, हाम्रो अर्थतन्त्र प्रभावित हुन गएको छ। व्याज बढायो भने तरलता समस्या समाधान हुन्छ भन्ने र आयात रोक्यो भने अहिलेको सङ्कट पार लगाउन सकिन्छ भन्ने नीतिहरूका कारण अहिलेको समस्या आएको हो। ती सबै नीतिहरू प्रभावितता रहे। अब अर्थतन्त्रमा केही सकारात्मक सङ्केतहरू देखिएका छन्। यसलाई आधार मानेर नयाँ नीतिगत व्यवस्था गर्न सकियो भने अर्थतन्त्रलाई अहिलेको समस्याबाट पार लगाउन सकिन्छ। छिटोभन्दा छिटो यसलाई लयमा ल्याउन सकिन्छ,”

उनले भने। उनले अहिलेको असहज अवस्थामा सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। “अर्थतन्त्रमा समस्या छ। अहिले एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाएर समस्याको समाधान हुँदैन। नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क र बैङ्किङ क्षेत्र सबै मिलेर अहिलेको समस्याको समाधान खोज्नुपर्ने अवस्था छ। सबै मिलेर यो अवस्थालाई पार लगाउनुपर्नेछ,” उनले भने।

उनले अहिलेसम्म निर्वाचन सकिएका सबै प्रदेशहरूमा सर्वसम्मत नेतृत्व चयन भएको उदाहरण दिँदै यस गण्डकी प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि सुझाव दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ