arrow

नागरिक आवाज

भीभीआईपीको सवारी कार्यविधि परिमार्जन, राष्ट्रपतिको घोडेजात्रा अवलोकनमै अभ्यास

परिमार्जित कार्यविधिअनुसार अब राजकीय, औपचारिक र कार्यालयीय सवारीमा सडक खाली गरिने छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
rastrapati-sawari-2079-1207.jpg

काठमाडौं । सरकारले विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि संशोधन प्रकृया अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रपति, उपराष्ट्रपतिको औपचारिक सवारीको बेला सर्वसाधारणले कष्ट भोगेको व्यापक जनगुनासो बढ्दै गएपछि विशिष्ट पदाधिकारीहरूको सवारी कार्यविधि परिमार्जनको अन्तिम चरणमा पुर्याएको हो । 

गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि संशोधनलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतका अनुसार मन्त्रालयले कार्यविधिको काम अन्तिम चरणमा पुर्याएको हो ।

 ‘गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ को परिमार्जन मस्यौदा तयार गरिसकेको छ । यसलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यविधि कार्यान्वयनमा आउनेछ’, सहसचिव बस्नेतले भने । 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक सवारीमा सर्वसाधारणले सास्ती खेपेपछि व्यापक आलोचना भएको थियो । पछिल्लो पटक संसदमा सम्बोधनका लागि जाँदा वीर अस्पतालमा कार्यरत चिकित्सकहरुले समेत सुरक्षाकर्मीको कुटाई खाएपछि सरकारले यो कार्यविधि संशोधनका लागि समिति नै गठन गरेको थियो । 

मन्त्रालयले कार्यविधि परिमार्जनका लागि सहसचिव बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँगसमेत परामर्श गरेको बताइएको छ । 

 ‘राष्ट्रपतिज्यूसँग पनि कार्यविधिको बारेमा सामान्य छलफल गरिएको छ’, मन्त्रालय स्रोतले भन्यो । अहिलेको कार्यविधिमा विशिष्ट व्यक्तिको सवारी विगतमा जस्तो सडक पूरै खाली गर्नुपर्ने खालको हुने छैन । 

समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख रहने कानूनी व्यवस्था छ । उनीहरुले दिएको सुझावको आधारमा सो कार्यविधि संशोधन गर्न लागिएको हो । 

सुरक्षा निकायको आवश्यक सुझावपछि कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । गृहका अनुसार कार्यविधिमा विशेषगरी विशिष्ट व्यक्तिको राजकीय, औपचारिक र कार्यालयीय सवारीलाई परिमार्जन गरिएको छ । 

‘परिमार्जित कार्यविधिअनुसार अब राजकीय, औपचारिक र कार्यालयीय सवारीमा सडक खाली गरिने छैन । ‘पहिलाको भन्दा केही खुकुलो बनाइएको छ, आवश्यकता अनुसार कडा पनि बनाउने व्यवस्था कायमै राखिएको छ’, मन्त्रालय स्रोतले भन्यो । 

आवागमन अवरुद्ध गरिने छैन । कारगेडमा मोटरसाइकल र गाडीका लावालस्कर पनि हुने छैनन् । तर सवारी हुने रुटमा सुरक्षा व्यवस्था भने कडा बनाइनेछ । 

सवारी हुने रुटमा देखिनेभन्दा पनि नदेखिने सुरक्षाकर्मी ज्यादा परिचालन हुनेछन् । कार्यविधिको अभ्यासकै रुपमा घोडेजात्रा अवलोकन गर्ने क्रममा राष्ट्रपतिको सवारी चलाइएको थियो ।

 ‘राष्ट्रपतिको सुरक्षा व्यवस्थालाई व्यवस्थित पार्ने र सर्वसाधारणलाई कष्ट नहुने गरी घोडेजात्राको अवलोकनको क्रममा सो कार्यविधिको पहिलो अभ्यास गरिएको हो’, मन्त्रालय स्रोतले भन्यो । 

मन्त्रालयका अनुसार यसअधिको प्रावधान सबै खारेज भने गरिएको छैन, अवस्था र परिस्थिति हेरेर सुरक्षा व्यवस्थालाई कडा पार्ने र खुकुलो पार्ने प्रावधान भने कायमै राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ