arrow

काठको ठेकी बनाउनेलाई दैनिकी चलाउन कठिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
Theki.jpg

भोजपुर । काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ ।

विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने  घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहँुदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराको भनाइ छ । यहाँ ठाउँअनुसार गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट स–साना आकारका गोलियालाई कुँदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । जसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ ।

दूध जमाउने ठेकीबाहेक मोही पार्ने ठेकी, कोसी, आरी खुर्पेटा कुँदेर चँुदाराले आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादनलगायतका औजारको प्रयोग हुने गर्दछ । नयाँ पुस्तामा ध्यान नजाँदा तथा व्यावसायिक हुन नसक्दा यहाँ अहिले पनि परम्परागतरूपमा नै ठेकी बनाउने चलन छ । काम गर्ने प्रविधिले आधुनिकता नपाउँदा श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या हुने चुँदारा बताउँछन् ।

धेरै मेहनतले खोलाखोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि यो पेसा छाड्दै गएको ५१ वर्ष बढी समयबाट चँुदारा पेसा गर्दै आएका टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए । “न्यून ज्यालालगायत कारणले यो हाम्रो पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको छ”, विश्वकर्माले भने, “मेहनत धेरै गर्नुपर्छ । मेहनतअनुसारको आम्दानी हुँदैन, धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन् ।”

काठको सामग्री बनाउनका लागि दार, पँयले, लोडसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने विश्वकर्माले बताए । तर पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको उनले बताए । “काममा त दुःख छँदैछ । अझ काठको पनि अभाव छ । गाउँले आफैँले काठ खोजेर ल्याए भने हामी बनाइदिन्छौँ । हामीले ज्याला लिने हो”, विश्वकर्माले भने, “एक पाथी जाने ठेकी बनाएको रु दुई सय ५० देखि रु तीन सयसम्म ज्याला लिने गरेका छौँ । दुई जनाले दिनभर काम गरेको रु एक हजार पाँच सयसम्म हुन्छ ।” 

स्वास्थ्यका लागि पनि काठका भाँडा फाइदाजनक मानिन्छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा विस्तारै हराउन थालेका हुन् । गाउँमा पशुपालन गर्ने व्यवसाय घटेपछि काठका ठेकीको प्रयोगमा पनि कमी आएको देखिन्छ । अझै पनि जिल्लाका केही ग्रामीण स्थानमा कुँदेरै ठेकी बनाउने चलन छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ