काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताएकी छन् ।
रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता शर्माले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐनलगायत आवश्यक कानुन विज्ञ र सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा तयार गर्ने काम भइरहेको बताइन् ।
रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजन सञ्चारका महत्वपूर्ण माध्यम भएको बताउँदै सरकार सार्वजनिक प्रसारण माध्यम (पिएसवी) विधेयकलाई अगाडि बढाउने तयारीमै रहेको बताइन् ।
उनले सूचना, सञ्चार प्रविधिको दुरुपयोग होइन कि सदुपयोग गर्न सबैलाई आग्रह गरिन् ।
उनले रेडियो नेपालले अझै सन्देशमूलक कार्यक्रम उत्पादन गरिन्र जनताको बीचमा पुर्याउनुपर्ने र शतप्रतिशत जनताकोमा रेडियो नेपाल सुन्न सक्ने गरी व्यवस्थित योजना बनाउन निर्देशन दिइन् ।
रेडियो नेपालको महत्वबारे चर्चा गर्दै उनले भनिन्, “सूचना र सञ्चारका हिसाबले हामी निकै कमजोर थियौँ, हाम्रो गाउँठाउँमा इन्टरनेटको पहुँच थिएन, ती ठाउँमा सूचना, मनोरञ्जनको, समाचारको भरपर्दो माध्यम भनेको रेडियो नेपाल मात्रै विकल्प थियो र अहिलेको परिस्थितिमा पनि सञ्चारको भरपर्दो साधन रेडियो नेपाल नै छ ।”
रेडियो नेपालले बद्लिँदो समय अनुसार आफूलाई पनि परिमार्जन गर्दै लगेको उल्लेख गर्दै उनले अझै कतिपय अवस्थामा थप परिमार्जनको आवश्यकता औल्याइन् ।