arrow

लोभ्याएर देशको सामाजिक संरचना च्यात्ने काम भइरहेको पूर्वराजाको आरोप  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
x-king-speech-2079-12-20.jpg
तस्बिर – फाइल ।

सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहले धन, पद, कद दिएर र लोभ्याएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् । सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन नसक्ने बताए । 

तर, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर देशको  सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको उनको भनाइ छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने बताउँदै पूर्वराजा शाहले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा नअल्झी हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्ने बताए । 

आफूलाई अभिनन्दन गरेकोमा धन्यवाद दिँदै पूर्वराजाले सबै नेपालीमा राष्ट्रिय दृष्टिकोण जागृह हुँदै जानुपर्नेमा जोड दिएका छन् । 

अभिनन्दनमा करिब ४० हजार नेपालीले सहभागीता जनाएका थिए । संयोजक केशरबहादुर विष्टले देशभरबाटै नागरिक आएकाले ठूलो सहभागीता भएको बताए । 

तर जिल्ला प्रशासनले भने र्याली निकाल्न रोक लगाएको थियो । यति ठूलो संख्यामा सहभागीहरु आएसँगै जिल्ला प्रशासनको त्यो रोकले भने कुनै अर्थ राखेन । 

सम्बोधनको पूर्णपाठ–

उपस्थित दिदीबहिनी तथा दाजुभाइहरु,

सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईहरुले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकाँक्षा तथा आवश्यकताहरुलाई औँलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।

सदासर्वदा स्वधिन रहेको र आफ्नै मौलिख मान्यता भित्र स्वाभिमानपूर्वक आधुनिकता तर्फ लागेको हाम्रो नेपाल हामीलाई सधै राम्रो लाग्छ, हामीलाई सधै प्यारो लाग्छ । राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरी एकपटक यहाँ प्रकट भएको छ । तपाईंहरुले दर्शाउनु भएको यस्तो देशभक्ति हामीले हृदयदेखि सम्मान गर्दछौं । आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरुबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिँदैन ।

निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चयपनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चयपनि हामीले शान्ति, सुब्यवस्था र सुशासनका माध्यमबाट चौतर्फि विकासको बाटो लाग्नु छ ।

राष्ट्र नै हाम्रो आफ्नो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहंम धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईंहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुँदै जावोस । धन्यवाद । जय नेपाल ।
सुनसरी, इनरुवा, चैत्र २०, २०७९



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ