arrow

हिन्दू-मुस्लिम सद्भाव र्‍याली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार

जनकपुर ।  यही चैत १६ गते रामनवमीका दिन हिन्दू युवाहरूले निकालेको शोभा यात्रा मुस्लिम धर्मावलम्बीको मस्जिद नजिक पुग्दा भएको विवादपछि बढेको अविश्वास र नागरिकमा देखिएको सद्भाव भड्किने त्रासलाई सामान्यीकरण गर्न हिन्दू मुस्लिम धर्मावलम्बीले सोमबार जनकपुरधाममा संयुक्त सद्भाव र्‍याली निकालेका छन् । 

जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा दुवै धर्मका अगुवा तथा सरोकारवालाको सहभागितामा सद्भाव र्‍याली निकालिएको हो । र्‍याली जानकी मन्दिर प्राङ्गणबाट सुरु भई राम मन्दिर, महावीर चोक, पेठिया बजार, जनकपुरधाम–५ स्थित मस्जिद हुँदै पुनः जानकी मन्दिरको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । सो सभामा दुवै पक्षले सामाजिक सद्भाव कायम गर्न आफूहरू प्रतिबद्ध रहेको भन्दै नागरिकलाई आश्वस्त पारेको थियो ।

हिन्दू धर्मावलम्बीका तर्फबाट सम्बोधन गर्नुभएका जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सद्भाव र्‍यालीले दुवै धर्ममा आस्था राख्ने नागरिक तहमा बढेको अविश्वासलाई मत्थर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले विश्व प्रसिद्ध जानकी माताको जन्मस्थल जनकपुरधाममा सामान्य विवाद भए पनि दुवै धर्मावलम्बी आपसी मेलमिलाप र छलफलको माध्यमबाट सद्भाव कायम गर्न प्रतिबद्ध रहेको सन्देश देश विदेशमा प्रवाहित गर्न जरुरी रहेको धारणा राखे । 

“एक ठाउँमा बस्दा सामान्य विवाद हुनसक्छ, त्यसको समाधान पनि मिलेरै गर्ने हो । हामी दुवै पक्षले युगौँदेखि कायम रहेको भाइचारा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई बल पुग्ने गरी प्रतिबद्ध हुन जरुरी छ । म ईश्वर, अल्लाह वा भगवान्समक्ष दुवै धर्मका अनुयायीहरूलाई त्यही सद्बुद्धि दिनका लागि प्रार्थना गर्दछु”, महन्थ दासले भने । 

मुस्लिम धर्मावलम्बीका तर्फबाट सम्बोधन गरेका अगुवा मोहम्मद अस्गर अलीले दुवै पक्षले कुनै पनि बहानामा वर्षौंदेखि कायम सद्भावलाई खल्बल्याउने गरी गतिविधि गर्न नहुने धारणा राखे । उनले आफूह सामाजिक सद्भाव कायम गर्न सधैँ तयार रहेको भन्दै धर्मको अनुशासनमा रहेर आफ्ना धार्मिक कर्म गर्न सबैलाई आग्रह गरे । 

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले राम नवमीका दिन भएको विवाद र पछि त्यसलाई मलजल गर्ने पक्षले सामाजिक सञ्जालबाटै आम माफी मागिसकेकाले आगामी दिनमा कुनै असामाजिक काम नहुनेमा आफू आशावादी रहेको बताए । आपसी विवाद र असमझदारीले दुवै धर्म तथा जनकपुरधाम क्षेत्रको परम्परा, मूल्य मान्यता र प्रतिष्ठामा गम्भीर असर पुर्‍याउने भन्दै नगरप्रमुख साहले सामाजिक सद्भाव कायम गर्न दुवै पक्ष इमान्दारीपूर्वक प्रस्तुत हुनुपर्ने धारणा राखे । 

“सोमबारको सद्भाव र्‍यालीले जनकपुरका नागरिकमा मात्रै होइन, यो सन्देश पुग्ने सबै ठाउँमा सामाजिक सद्भावका लागि प्रेरणा मिल्नेछ । यसलाई जोगाइराख्न दुवै पक्षलाई म विशेष अनुरोध गर्न चाहन्छ”, नगरप्रमुख साहको भनाइ छ । 



नयाँ