arrow

वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न नासु पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
baideshik-rojgar.jpg

काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले बताए । 

उनले भने, “वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका छ जना पक्राउ गरी आज सार्वजनिक गरेपछि उनीहरुले दिएको बयानका आधारमा हामीले अधिकारीलाई पक्राउ गरेका हौं ।” अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक डा केसीले जानकारी दिए । 

यसअघि वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरी आजै सार्वजनिक गरेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौंको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीका अनुसार पक्राउ परेकाहरुमा सर्लाही लालबन्दी–८ का विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले छन् । 

उनीहरुका साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्ममिति, विवाहदर्ता र मृत्युदर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ । पक्राउ परेकाहरुले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  

वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै केही कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमाबापत पाउने बीमा रकम मृतकका आफन्तहरुलाई दिलाई दिने भन्दै उनीहरुले ठगी गर्ने गरेको र त्यसबापत उनीहरुले प्रतिमृतक रु सात लाखसम्म ठगी गरेको खुलेको एसएसपी केसीले दाबी गरे । यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरुको खोजतलास थालेको थियो ।

वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले रु १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा रु १३ लाख बीमाबापतको क्षतिपूर्ति पाउने व्यवस्था छ । यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त रु सात लाख पनि पाउने व्यवस्था छ । 

उनीहरुले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ