arrow

बागमती सरकारमा कांग्रेस, बहादुरसिंह र तीर्थले लिए शपथ

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०७९ चैत २६ आइतबार
bagmati-congrress-bahadursingh-tirtha.jpg

हेटौंडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामा तथा काभ्रेबाट विजयी तीर्थबहादुर लामा सहभागी भएका छन् । 

बहादुरले आर्थिक मामिला तथा योजना मन्त्रालय तथा तीर्थले खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मा पाएका छन् । दुवैले आइतबार साँझ शपथग्रहणसमेत गरेका छन् । 

कांग्रेसबाट अन्य मन्त्रीहरुको सपथ भने केही दिनपछि हुने भएको छ ।

लामो समयदेखि सरकार विस्तारको प्रयासमा रहेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई सरकारमा सहभागी हुने दलहरुको आन्तरिक समस्याको कारण मन्त्रीमण्डल विस्तारमा समस्या पर्दै आएको थियो ।

बहादुर सिंह कांग्रेस बागमती संसदीय दलका नेतासमेत हुन् । उनले संसदीय दलको नेतामा पूर्व संसदीय दलका नेता इन्द्र बानियाँलाई पराजित गरेका थिए । पुस १० अघिको सत्ताधारी गठबन्धनको रणनीति अनुसार बहादुर नै मुख्यमन्त्री बन्दै थिए । तर समीकरण बदलिएपछि उनी मुख्यमन्त्री बन्नबाट चुके । 

को हुन् मन्त्री तीर्थ ?

२०७९ सालमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित उनी २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । 

सोही कार्यकालमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित भएका उनी संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएर भूमिका निर्वाह गरेका थिए । 

कम्युनिष्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उनी कांग्रेसको पहिलो उम्मेदवार हुन् । २०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए । 

तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर भएको बाम गठबन्धनका कारण २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भने उनी ४ हजार २६ मत अन्तरले मात्रै पराजित भएका थिए । वाम गठबन्धनका गंगाबहादुर दोङले ४३ हजार ६ सय ३१ र कांग्रेसका तीर्थबहादुर लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका थिए । 

२०६४ सालबाट नेपाली कांग्रेसको राजनीति शुरु गरेका लामा सोही पर्ष क्षेत्रीय उपसभापति मनोनित भएका थिए । पार्टीको १२ औं र १३ औं महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित लामा संघीयतापछि जिल्ला २ निर्वाचन क्षेत्रमा विभाजन भएपछि प्रतिनिधि सभा क्षेत्र नं १ को सभापति भएका थिए । 

पार्टीको १४ औं महाधिवेशनमा उनी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ