arrow

मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीनको खोजी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
makwanpur-flood-2080-o4-23.jpg

मकवानपुर ।  मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ ।

मङ्गलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिराले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो । यससँगै उक्त पहिरामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मङ्गलबार साँझ जीवितै उद्धार गरिएको थियो । उनको करिब सात किलोमिटर तल बागमती खोलाको किनारबाट उद्धार गरिएको हो । घिसिङको खुट्टामा समस्या देखिएको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै उक्त पहिरामा परेर तीन जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन् । 

प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । पहिरामा परेकामध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमायाको भने मङ्गलबार नै मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ