arrow

सुरक्षा चुनौती सामना गर्न अझै प्रभावकारी कदम चाल्नुपर्छ : उपप्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
narayankajis.jpg

काठमाडौँ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वव्यापी रुपमा बढ्दो नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । 

इन्टरपोल स्थापनाको एक सताब्दी पुगेको अवसरमा बिहीबार काठमाडौँमा नेपाल प्रहरीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले साइबर अपराध, आतङ्कवाद र अन्तर्राष्ट्रिय सङ्गठित अपराधजस्ता विश्वव्यापी नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न जरुरी रहेको बताए । 

उनले अपराध नियन्त्रणमा देशहरुबीच आपसी समन्वय जरुरी रहेको बताउँदै यस कार्यमा नेपाल प्रहरीले गरेको प्रयासको सराहना व्यक्त गरे । एक शताब्दीदेखि इन्टरपोल अन्तर्राष्ट्रिय अपराध र आतङ्कवाद विरुद्धको विश्वव्यापी लडाइमा अमूल्य साझेदार भएको जनाउँदै गृहमन्त्री श्रेष्ठले यसले अन्तर्राष्ट्रिय प्रहरीबीच सहयोग अभिवृद्धि गर्नुका साथै सूचनाको आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्दै आएकामा प्रशंसा गरे ।

उक्त कार्यक्रम मनाउँदै गर्दा नेपाल प्रहरीका पुरुषोतम नेपालीले सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण उपलब्धि भएको उनले बताए । गृहमन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय प्रहरीको सहयोगलाई सुदृढ पार्ने नेपालको प्रतिबद्धतालाई पुन दोहो¥याए। न्याय र सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहयोगी र साझेदारहरूसँग समन्वय अभिवृद्धि गर्ने सङ्कल्पमा नेपाल सरकार लागिरहेको उनले बताए ।

आफ्नो सिमानाभित्र शान्ति र सुव्यवस्था कायम राख्नका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल प्रहरीले इन्टरपोलसँगको सहकार्यमा राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उनले भने, “विश्वले नै अन्तर्राष्ट्रिय अपराधबाट गम्भीर चुनौतीको सामना गरिरहेको छ, त्यस्ता अपराध नियन्त्रण गर्न सुदृढ साझेदारको खाँचो रहेको छ ।” 

उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध ओसारपसार, मानव बेचबिखन, साइबर अपराध र सीमावर्ती आतङ्कवाद जस्ता मुद्दाहरूलाई सम्बोधन गर्न इन्टरपोलको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

उनले बढ्दो सिमापार अपराधको चुनौतीका बीच विश्वव्यापी सुरक्षा प्रतिबद्धता र ऐक्यबद्धता महत्वपूर्ण हुने बताए । इन्टरपोलको शताब्दी वर्ष समारोहका अबसरमा अन्तर्राष्ट्रिय अपराधविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायबाट पनि प्रतिबद्धता चाहिने महानिरीक्षक कुँवरको भनाइ थियो । “यसका लागि राष्ट्रहरू बीचको सहयोग, सूचना आदानप्रदान र कानुनी ढाँचालाई बलियो बनाउनुपर्ने छ”, उनले भने । 

महानिरीक्षक कुँवरले सुरक्षा खतरालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरीको सहयोग महत्वपूर्ण रहने उल्लेख गरे । एक सय वर्षअघि सन् १९२३ मा इन्टरपोलको स्थापना भएको थियो । सन् १९६७ मा विश्वव्यापी संस्थामा आबद्ध हुँदै नेपाल इन्टरपोलको सदस्य बनेको थियो । सोही सन्दर्भमा बिहीबार इन्टरपोलको शताब्दी वर्षका अवसरमा नेपालमा पनि विशेष कार्यक्रम आयोजना गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ