arrow

पूर्व प्रमुख चौधरीले भने : चिनियाँ राजदूतको अभिव्यक्ति गैर कूटनीतिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
hari-bahadur-chaudhary-comments-on-china-ambassdor.jpg

काठमाडौँ। राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हरिबाबु चौधरीले केही दिनअघि चिनियाँ राजदूत छोन सङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन्।

राष्ट्रिय एकता अभियानले बिहीबार सङ्घीय राजधानी काठमाडौँमा आयोजना गरेको ‘चीन सम्बन्ध गैर कूटनीतिक अभ्यास’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।

उनले राष्ट्रिय अखण्डताको रक्षा र मुलुकलाई अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न नदिन सबै जिम्मेवार हुनु पर्ने बताए। मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सुमधुर बनाइ राख्न सबैले जिम्मेवारी पूर्वक अभिव्यक्ति दिनु पर्ने र गैर जिम्मेवार अभिव्यक्ति दिने कूटनीतिज्ञलाई पनि कानुनी दायरामा बाँध्नु पर्ने उनको भनाई छ।

यसै गरी, अभियानका अध्यक्ष विनय यादवले चिनियाँ राजदूतको गैर कूटनीतिक अभिव्यक्तिको विरोध गरे। उनले राजदूतलाई देश निकाला गर्नु पर्ने माग पनि गरेका छन्। यादवले चीन नेपालको संस्कृति र धर्म नष्ट गर्न लागिपरेको बताउँदै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने र तिब्बती करण गर्ने चीनको योजनालाई असफल बनाउनु पर्ने माग राखे।

अध्यक्ष यादवले देश जोगाउन अपिल गर्दै नेपालको जग्गा चीनको नक्सामा देखाइएको प्रति विरोध जनाए।

यस्तै अभियानका वरिष्ठ नेता बिपी यादवले चिनियाँ राजदूतको विरोध अभिव्यक्तिप्रति आपत्ति जनाउँदै काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा समर्थन जनाए।

वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेलले चिनियाँ राजदूतले नेपाललाई युद्धमा धकेल्न खोजेको आरोप लगाए। पौडेलले भारत र चीनको युद्ध नेपालमा नगर्न आग्रह गर्दै दुई देशको समस्यामा नेपाललाई नमुछ्न चेतावनी दिए। हाल तिब्बतमा रहेको भनिएको मानोसरोबरसम्म नेपाल भएको उनले दाबी गरे। 

विश्लेषक बुद्ध छिरिङ मोक्तानले चिनियाँ राजदूतको विरोध गर्दै नेपालले पनि सिङ्गापुरको जस्तै समृद्धिको यात्रा तय गर्नु पर्ने धारणा राखे। 

प्राध्यापक विजय महासेठले पनि चिनियाँ राजदूतको विरोध गरे। उनले नेपालमा चीन वा भारत कुनै पनि देशका विरुद्ध गतिविधि गर्न नहुने र गर्न दिन नहुने बताए।

उक्त कार्यक्रममा राष्ट्रिय एकता अभियानमा प्रवेश गर्नेको लाइन लागेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ