सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छः गृहमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
559
Shares
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भए पनि अरू पक्षमा पनि सोच्नुपर्ने बताए । गृहमन्त्री श्रेष्ठले सडक सुरक्षा र दुर्घटनाबाट बचाउनुका अतिरिक्त आम जनताको जीवनलाई सरकारी कार्यालयका कर्मचारी वा सेवाग्राहीहरू समयमै काम सम्पन्न गर्ने स्थिति बनाउने बारेमा सोच्न आवश्यक रहेको बताए ।
उनले सहज ढङ्गले यातायातलाई सञ्चालन गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए । उनले महानगरपालिका, ट्राफिक प्रहरी, नगरपालिकाहरू, यातायात व्यवस्था विभाग सबै निकाय मिलेर एकीकृत योजना बनाएर अघि बढे मात्रै यातायात क्षेत्रको व्यवस्थापन गर्न सकिने बताए ।
उनले ट्राफिक व्यवस्थापन राम्रो गर्न नसके आम जनताको शान्ति सुरक्षा र सुव्यवस्थामा पनि असर गर्ने बताए । उपप्रधानमन्त्रीसमेत रहनुभएका श्रेष्ठले पछिल्लो १० वर्षमा सशस्त्र द्वन्द्वको समयको भन्दा बढी मानिसको सडक दुर्घटनाका कारण मृत्यु भएको बताए ।