arrow

न्याय माग्दै सिंहदरबार पुगेका १६ जना गिरफ्तार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
hurpes-2080-06-26.jpg

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले शुक्रबार दिउँसो सिंहदरबार (दक्षिण गेट) अगाडि विरोध प्रदर्शन गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउ, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय सिघ्र खारेज गर, कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर भन्दै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शन प्रारम्भ हुना साथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाडौँ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु विकास थापा, सानु लामा, रिता अधिकारी, ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, नानीकाजी गिरी, मनबहादुर थापा, नरेन्द्रमान श्रेष्ठ, मधु पुडासैनी, द्वन्द्व पीडित साझा चौतारी कार्यवाहक अध्यक्ष कल्याण बुढाथोकी, माओवादी पीडित संघका अध्यक्ष धर्मराज न्यौपानेसहित १६ जनालाई गिरफ्तार गरी नगर प्रहरी कार्यालय भृकुटीमण्डप कार्यालयमा राखेको छ ।

प्रदर्शनमा सहभागीहरुले हत्या हिंसा महिमामंडन गर्न पाइँदैन, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, पीडकलाई आम माफी दिने नियतले भइरहेको चलखेल बन्द गर, हिंसा र आपराधिकरणलाई बढावा दिने काम बन्द गर, महँगीले ढाड भाँच्यो, नागरिकलाई राहत खोइ ?, हत्यालगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको आर्थिक चलखेलबारे छानबिन गर, ललिता निवास जग्गा घोटालामा अदालतको आदेश अनुरुप छानबिन किन नगरेको ?, सुनकाण्डका नाइकेलाई कारबाही खोइ ? लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


विस्तृत शान्ति सम्झौताको मर्म विपरीत, मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई (दशक लामो सशस्त्र द्वन्द्वका दौरान) आम माफी दिने नियतले भइरहेको चलखेलप्रति आपत्ति  व्यक्त गर्दै शान्ति समाजले विभिन्न जिल्लामासमेत प्रदर्शन गरिरहेको छ । यस क्रममा शान्ति समाजको पाल्पा शाखाले असोज २१ गतेदेखि दिनहुँ प्रदर्शन गरिरहेको समाजकी उपनिर्देशक सरिता पौडेलले बताएकी छिन् । 



नयाँ